सात विधाका पुरस्कार तथा सम्मान घोषणा, ओम रिजाललाई प्रभास राज्यलक्ष्मी पुरस्कार
धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा प्रत्येक वर्ष प्रदान गरिने विभिन्न सातवटा प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूका लागि यस वर्षका स्रष्टाहरूको नाम सार्वजनिक गरिएको छ।
समाजको तर्फबाट वर्ष २०८२ का लागि प्रदान गरिने उक्त पुरस्कारहरूको निर्णय आज बसेको पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत रूपमा गरेको हो।बैठकले विभिन्न विधा, कृति तथा वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ७ जना स्रष्टाहरूलाई नगद राशिसहित पुरस्कृत गर्ने निर्णय गरेको छ।
समितिको निर्णयअनुसार यस वर्षको प्रतिष्ठित ५० हजार १ रुपैयाँ राशिको ‘बद्री-कृष्णा वाङ्मय पुरस्कार’ हाल काठमाडौं निवासी स्रष्टा जगमान गुरुङलाई प्रदान गरिने भएको छ। त्यसैगरी ५० हजार १ रुपैयाँकै ‘प्रभास राज्यलक्ष्मी कृति पुरस्कार’ दैलेखका स्रष्टा ओम रिजाललाई उनको चर्चित कृति ‘पैँकेलो उपन्यास’ का लागि समर्पण गरिने निर्णय भएको छ।
२५ हजार १ रुपैयाँ राशिको ‘सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार’ डडेल्धुराका स्रष्टा कैलाश पाण्डेयलाई प्रदान गरिनेछ भने सोही बराबरको राशि रहेको ‘श्रीलोचन साहित्य पुरस्कार’ हाल कैलाली निवासी स्रष्टा पुष्पराज पाण्डेयलाई अर्पण गरिनेछ।
यसैगरी २५ हजार १ रुपैयाँ राशिको ‘विष्णुदास-यज्ञ साहित्य पुरस्कार’ डोटीका स्रष्टा पूर्णानन्द ओझा र ‘गणेश स्मृति हेमन्ती पुरस्कार’ बाँकेकी स्रष्टा ऋचा लुइँटेललाई प्रदान गर्ने निर्णय समितिले गरेको छ।
त्यस्तै ११ हजार १ रुपैयाँ राशिको ‘प्रतिभाश्री सम्मान’ बाट कैलालीकी स्रष्टा हिमांशी भट्टलाई सम्मानित गरिने भएको छ। लामो समयदेखि भाषा, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय सुदूरपश्चिमाञ्चल साहित्य समाजले प्रत्येक वर्ष यी पुरस्कारहरू प्रदान गर्दै आइरहेको र सिफारिस गरिएका स्रष्टाहरूलाई छिट्टै नै एक विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान पत्र वितरण गरिने समाजले जनाएको छ।







डिसी नेपाल







Facebook Comment