कांग्रेस बाराका सभापति राजेश राय यादव निलम्बित

डिसी नेपाल
२१ जेठ २०८३ १७:५६

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरको बी.पी. नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले अनुशासन उल्लंघनको कसुरमा यादवमाथि अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरेको हो।

यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेको थियो।

सो सम्बन्धमा समितिले दुई पटकसम्म स्पष्टीकरण माग गर्दा पनि तोकिएको समयभित्र कुनै जवाफ नदिएपछि, अनुसन्धान कार्य प्रभावित हुन नदिन नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ बमोजिम उनलाई निलम्बन गरिएको सचिव दिनेश थापामगरले जनाएका छन्।

यसैगरी बैठकले सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का तीन जना प्रदेश सभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई सजगताका साथ पदीय जिम्मेवारी वहन गर्न निर्देशन दिएको छ। उनीहरूमाथि पनि २०८२ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको उजुरी परेको थियो।

तर छानविनका क्रममा सोधिएको स्पष्टीकरणको जवाफ दिँदै उनीहरूले आफूमाथि लागेका आरोपहरू निराधार, असत्य र कपोलकल्पित रहेको भन्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका थिए।

सोही जवाफका सन्दर्भमा समितिले उनीहरूलाई आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रहेर दत्तचित्तका साथ काम गर्न सचेत गराएको छ।

अर्कोतर्फ, नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) ले भने अनुशासन उल्लंघनको आरोपबाट सफाइ पाएका छन्।

उनीमाथि परेको उजुरीका सम्बन्धमा समितिले सोधेको स्पष्टीकरणको जवाफ र मिसिल संलग्न कागजातहरूको गहन अध्ययन गर्दा राउतको जवाफ सन्तोषजनक पाइएको समितिले उल्लेख गरेको छ।

यस विषयमा थप जाँचबुझ गर्दा थप कारबाही गर्नुपर्ने कुनै ठोस अवस्था नदेखिएकाले उनलाई लगाइएको आरोपबाट पूर्ण रूपमा सफाइ दिने निर्णय समितिले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *