चुनावमा हारे पनि जनताको मन जित्न सफल छौं : कुलमान घिसिङ
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अब देश रूपान्तरणको महाअभियानमा सक्रिय रूपमा अघि बढेको घोषणा गरेका छन्।
उज्यालो नेपाल पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टीले हरेक क्षेत्रका नागरिकसँग प्रत्यक्ष जोडिएर मुलुकमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित काम गरिरहेको बताए।
उज्यालो नेपाल पार्टी अब जुरुक्क उठेको चर्चा गर्दै उनले देशलाई रूपान्तरण गर्नका लागि आफूहरू पूर्ण रूपमा तनदुरुस्त भएर लागिपरेको स्पष्ट पारे।
विगतको संघीय संसद् निर्वाचनको समीक्षा गर्दै अध्यक्ष घिसिङले छोटो समयको तयारी र विभिन्न परिस्थितिका कारण अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टीप्रति आम जनताको विश्वास अझै कायमै रहेको दाबी गरे।
निर्वाचनमा प्राविधिक रूपमा पराजित भए पनि उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी भएको र हरेक नेपालीको मनमस्तिष्कमा विश्वासको पात्रका रूपमा स्थापित हुन सफल भएको उनको भनाइ थियो।
निर्वाचन परिणामले पार्टीलाई कमजोर नबनाएको बरु अहिले देशका विभिन्न जिल्ला र स्थानीय तहहरूमा उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने नागरिकहरूको ठुलो लर्को लागिरहेको उनले उल्लेख गरे।
अध्यक्ष घिसिङले आम नेपाली जनताले आफ्नो पार्टीलाई अविश्वास गरेर वा मन नपराएर मतदान नगरेको नभई तत्कालीन समयमा पुराना राजनीतिक दलहरूको खराब व्यवहार र शासनको विरुद्धमा एउटा फरक लहर आएको स्पष्ट पारे।
सोही लहरका कारण नेपाली जनताले पुराना शक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनमत दिएर पठाएको भन्दै उनले त्यसप्रति आफ्नो पार्टीको कुनै गुनासो नरहेको बताए।
उनले जनमतको कदर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुदेखि नै स्वागत र बधाई दिएको स्मरण गराउँदै सरकार राम्रोसँग चलाउन आफ्नो पार्टीको समर्थन रहने समेत प्रतिबद्धता व्यक्त गरे।
उज्यालो नेपाल पार्टीले चुनावी पराजयलाई अन्तिम नठानी आगामी दिनमा सफलता सुनिश्चित गर्ने गरी बलियो तयारी गरिरहेको घिसिङले दाबी गरे।
हारबाटै जितको बाटो खुल्ने कुरामा जोड दिँदै उनले अन्धकार पछि उज्यालो अवश्य आउने र रात पछि बिहान भए जस्तै आफ्नो पार्टी पनि दृढ संकल्पका साथ निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment