रास्वपाको ‘नीलो क्रान्ति’ धेरै दिन टिक्दैन, हामी ‘हरित क्रान्ति’ गर्छौं: कुलमान घिसिङ
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको आर्थिक र सामाजिक अवस्था बदल्नका लागि अब आफ्नो पार्टीले ‘हरित क्रान्ति’ गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विगतका राजनीतिक क्रान्तिहरूले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गरे।
उनले हिजोका दिनमा विभिन्न नाममा भएका आन्दोलनले राजनीतिक परिवर्तन मात्रै ल्याएको बताउँदै अब देशको समग्र स्थिति परिवर्तन गर्न हरित क्रान्ति आवश्यक रहेकोमा जोड दिए।
“उज्यालो नेपाल पार्टीले नेपालमा अब हरित क्रान्ति गर्छ। अब हरित क्रान्ति गर्छौं हामी,” घिसिङले भने, “हिजो धेरै क्रान्तिका नाममा राजनीतिक परिवर्तन भए। सेतो क्रान्ति भनेर परिवर्तन भए, रातो क्रान्ति भनेर परिवर्तन भए, १० वर्षे जनयुद्ध भयो। तर, तिनले देशको आर्थिक स्थिति बदल्न सकेनन्।”
अध्यक्ष घिसिङले हालैका राजनीतिक घटनाक्रम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयतर्फ सङ्केत गर्दै उनीहरूको राजनीतिक एजेन्डा लामो समय नटिक्ने दाबी समेत गरे। पछिल्लो ‘जेनजी’ आन्दोलनभन्दा अगाडि रास्वपाले ‘नीलो क्रान्ति’ को नारा अघि सारेको स्मरण गर्दै उनले त्यसको आयु छोटो रहेको दाबी गरे।
उनले थपे, “जेनजी आन्दोलनका बेला त्यो भन्दा अगाडि स्थापित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नीलो क्रान्ति भनेर भन्नेभयो। तर, रास्वपाको नीलो क्रान्ति धेरै दिन टिक्दैन। त्यसैले अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति नै हो।”
आफ्नो पार्टीले अघि सार्ने हरित क्रान्तिले देशको उत्पादन, रोजगारी र पर्यावरणलाई मुख्य प्राथमिकतामा राखेर आर्थिक आत्मनिर्भरताको बाटो पहिल्याउने दाबी समेत उनले गरे।







डिसी नेपाल







Facebook Comment