सर्वोच्चको आदेशपछि दलित अभियन्ता जनक परियार हिरासतमुक्त
काठमाडौं। धार्मिक आस्थामा आघात पुर्याएको आरोपमा गत जेठ १५ गते गिरफ्तार गरिएका दलित अभियन्ता जनक परियार हिरासतमुक्त भएका छन्।
सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो। उक्त रिटमा अधिवक्ताहरू यमकुमारी ददेल, अप्सरा केसी, गम्भीर नेपाली र सरकारी वकिल शिला भूसालले बहस गरेका थिए।
शनिबार संवाद डबलीमा दलित अधिकारकर्मीहरूद्वारा आयोजित कार्यक्रममा बोल्दै परियारले आफूलाई केही सांसदहरूको प्रत्यक्ष दबाबमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे। गिरफ्तार गरेलगत्तै आफूविरुद्ध ‘धार्मिक आस्थामाथि आघात पुर्याउन नहुने’ कसुरमा मुद्दा चलाएर सात दिनसम्म हिरासतमा राखिएको उनले जानकारी दिए।
“हजारौँ वर्षदेखि दलित समुदायले भोग्दै आएको थिचोमिचो र पीडाका विषयमा आवाज उठाउँदा मलाई हिरासत पुर्याइयो,” परियारले भने, “यो मेरो व्यक्तिगत गिरफ्तारी मात्र होइन, सिङ्गो दलित समुदायमाथिको अपमान हो। तर, यस घटनाले मेरो आत्मबल थप बढाएको छ। शरीरमा एक थोपा रगत रहेसम्म दलित अधिकारका पक्षमा बोलिरहनेछु।”
बोल्न पाउने अधिकारमाथि प्रहार भएको दाबी
कार्यक्रममा अधिवक्ता यमकुमारी ददेलले अभिव्यक्ति भएकै आधारमा नागरिकलाई पक्राउ गर्नु संविधानको मर्म र भावना विपरीत भएको बताइन्।
उच्च राजनीतिक तहको दबाबमा परियारलाई समातिएको कुरा प्रहरी प्रशासनको रवैयाले नै स्पष्ट पारेको दाबी गर्दै उनले भनिन्, “माननीयज्यूहरूले आफ्नो गरिमा भुलेर अभियन्तालाई पक्राउ गराए पनि सम्मानित अदालतले न्याय दिएको छ।” अर्का अधिवक्ता गम्भीर नेपालीले पनि विचार राेकिएकै भरमा व्यक्ति समातिनु गम्भीर विषय भएको भन्दै राज्य यस्ता मामिलामा संवेदनशील हुनुपर्नेमा जोड दिए।
सांसदहरूको भूमिकामाथि आक्रोश
श्रम-संस्कृति पार्टीका नेता निर्मल परियारले राप्रपा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही दलित समुदायप्रति पूर्वाग्रही बनेर जनकलाई पक्राउ गराउन लागिपरेको आरोप लगाए। दलित उत्पीडनका ठूला घटनामा मौन बस्ने तर अधिकारका लागि बोल्नेको मुख थुन्न खोज्ने प्रवृत्ति स्वीकार्य नहुने उनले चेतावनी दिए।
साथै, पूर्वप्रशासक भीम उपाध्यायले सामाजिक सञ्जालमा विषयलाई अतिरञ्जित गरेको र दलित आन्दोलनबाटै उदाएका रास्वपा सांसद खगेन्द्र सुनार यस विषयमा मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, जेन्जी समूहका प्रतिनिधिहरू सुनील विक र सुप्रिया नेपालीले लुम्बिनी प्रदेशका सांसद सीके गुप्ता तथा कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानेन्द्र शाहीको दलित विरोधी मानसिकता झल्किएको टिप्पणी गरे।
राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विकले दलित समुदायको आत्मसम्मान, सामाजिक न्याय र समानताका सवालहरूलाई समयमै सम्बोधन नगरिए दक्षिण एसियामै ठूलो सामाजिक विद्रोहको स्थिति आउन सक्ने चेतावनी दिए।
कार्यक्रममा दलित अभियन्ता कृष्ण सेवा र नेपाली कम्युनिस्ट पार्टीका नेता गणेश गोतामेले परियारको गैरकानुनी गिरफ्तारीले सिङ्गो उत्पीडित समुदायलाई झस्काएको बताउँदै दलितका मुद्दाहरूलाई उपेक्षा गरिए भविष्यमा थप आन्दोलन चर्कने धारणा राखेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment