पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा भने तातो दिनको चेतावनी

डिसी नेपाल
२५ जेठ २०८३ ७:०३

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावका कारण अहिले देशको पहाडी र हिमाली भूभागमा साधारणतया बदली तथा तराई भूभागमा आंशिक बादल लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली एवं पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन हुने सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बदली, पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली एवं पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *