‘ब्यारेकजस्तै घर’

डिसी नेपाल
२५ जेठ २०८३ ८:३०

राँझा (बाँके)। बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ ।

शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिनुभएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध भए । हाल उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन्।

“सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्छन्, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।”

यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरे। परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत हुन् । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसकेका छन्।

सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरे। परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उनको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उनी भन्छन्, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।”

नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताए। एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *