भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
मनिला (एजेन्सी) । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा आज सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या बढेर १५ पुगेको छ। फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अनुसार भूकम्पले पुर्याएको ठूलो भौतिक क्षतिका बीच उद्धार टोलीहरूले विभिन्न भग्नावशेषबाट मृतकहरूको शव निकालेका हुन्।
स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाले मिन्डानाओ टापुको दक्षिण-कटबाटो, सुल्तान कुदरात, सराङ्गानी प्रान्त र जनरल सान्तोस सहर समेटिएको ‘सोक्ससार्जेन’ क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। भूकम्पका कारण हालसम्म सोही क्षेत्रमा मात्रै कम्तीमा १२९ जना गम्भीर रूपमा घाइते भएका छन् भने अन्य क्षेत्रमा पनि हताहतीको विवरण संकलन गर्ने कार्य जारी रहेको छ।
भूकम्पको मुख्य धक्कापछि समुद्री तटीय क्षेत्रहरूमा सुनामीका शक्तिशाली छालहरू समेत रेकर्ड गरिएका छन्। फिलिपिन्सको भूगर्भ विभागले मिन्डानाओका ६ वटा छुट्टाछुट्टै तटीय इलाकाहरूमा स्थानीय समय अनुसार बिहान ७:४२ बजेदेखि ८:४५ बजेको बीचमा सुनामीका लहरहरू ठोक्किएको जनाएको छ।
मापन गरिएका छालहरूमध्ये सबैभन्दा अग्लो छाल १.४ मिटर (४.६ फिट) सम्मको रेकर्ड गरिएको छ। सुनामीको उच्च जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले तटीय क्षेत्रका सर्वसाधारणलाई आफ्नो सामानको पर्वाह नगरी तत्कालै सुरक्षित र उच्च स्थानतर्फ जान कडा निर्देशन दिनुभएको छ। सुरक्षाका लागि मिन्डानाओ क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएका छन् भने सेना र तटरक्षक बललाई उद्धारमा परिचालन गरिएको छ।
यसैबीच, मुख्य भूकम्पपछि सो क्षेत्रमा लगातार शक्तिशाली परकम्पहरू जाने क्रम जारी रहँदा सर्वसाधारणहरू चरम त्रासमा बाँचिरहेका छन्। भूगर्भ विभागका अनुसार स्थानीय समय अनुसार बिहान ११:०० बजेसम्ममा मात्रै १३८ पटक परकम्पहरू रेकर्ड भइसकेका छन्, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्मको रहेको छ।
लगातार गइरहेका ६ म्याग्निच्युडभन्दा माथिका परकम्पहरूका कारण भूकम्पले चर्किएका करिब ३७ वटा व्यावसायिक र सरकारी भवनहरू थप भत्किने जोखिम बढेको छ। यस प्राकृतिक विपत्तिले प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति र सञ्चार सेवा पूर्ण रूपमा ठप्प पारेको छ भने लगातारको पराकम्पका कारण उद्धारकर्मीहरूलाई भग्नावशेषभित्र फसिरहेका मानिसहरूको खोजी गर्न र राहत सामग्री पुर्याउन निकै कठिन भइरहेको छ।







डिसी नेपाल







Facebook Comment