श्रमदान गरी काठे पुल निर्माण

डिसी नेपाल
२५ जेठ २०८३ १७:५६

सिमकोट, (हुम्ला)। हुम्लाको दक्षिण भेगमा रहेको चङ्।खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन्। सम्बन्धित निकायलाई पटकपटक मुस्याँडामा रहेको नदीमा वारपार गर्नका लागि झोलुङ्गे पुल निर्माणका लागि अनुरोध गरे पनि स्थानीय जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीयले आफ्नै पहलमा श्रमदान गरी उक्त काठे पुल निर्माण गरेका हुन्।

नेप्कागाउँबाट करिब दुई घण्टाको दूरीमा पर्ने मुस्याँडा खोलामा रहेको काठे पुल निर्माण सम्पन्न भएको छ। सरोकार भएका निकाय, स्थानीय तहलगायतले पुल निर्माणमा चासो नदेखाएपछि नेप्कागाउँबासीले तीन श्रमदान गरी काठेपुल बनाएका स्थानीय जसबहादुर तामाङले बताए। उनका अनुसार उक्त नदीमा पुल नहुँदा चीनको सिमाना टाँकेनाका पुग्नलाई समस्या हुने गरेको थियो।

‘टाँकेनाका नेपाल र चीनको व्यापारिक नाका हो। उक्त नाकाबाट चीनमा पुग्न र चङ्खेली गाउँपालिकाका बासिन्दालाई केही सामग्री ल्याउनसमेत सहज हुने गरेको थियो’, स्थानीय तामाङले भने। पटकपटक गाउँपालिकालाई यस क्षेत्रमा झोलुङ्गे पुल निर्माणको पहल गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएपछि गाउँलेले श्रमदानमार्फत काठको पुल बनाएका उनको भनाइ छ।

गाउँलेले घाँसदाउरा ओसार्ने, पशुचौपाय चरिचरन गर्ने वनजङ्गल पुल पारि पर्ने भएकाले पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए। स्थानीयले फलामे र पक्की पुलको सपना वर्षौंदेखि देखे पनि सरोकार भएका निकायबाट पहल नहुँदा कागजमा सीमित बनेको स्थानीय तामाङले गुनासो गरे। उनका अनुसार तीनदिन लगाएर निर्मित काठे पुलबाट शनिबारदेखि आवतजावत गर्न थालिएको छ।

‘यसअघि यहाँ पुल नहुँदा उक्त खोलामा ज्यान जोखिम मोल्दै वारपार गर्नुपर्ने बाध्यता थियो। पुल निर्माणमा जुटेका नागरिकले कसैले काँधमा काठ बोकेका छन् भने कसैले डोरी तानेर आफ्नो श्रमदान गरेका छन्। विकासको आशामा धेरै वर्ष बिते, धेरै वाचा सुनिए, तर पुलका लागि बजेट सुनिश्चित हुन सकेन’, तामाङले भने। अन्ततः आफ्नै सङ्घर्ष र एकताले काठे पुल निर्माण गरी जनजीन सहज बनाइएको स्थानीयको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *