यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ

डिसी नेपाल
२५ जेठ २०८३ २१:२१

गोरखा। यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन्। सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन्।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका घरहरुमा तला ठोकिएका छन्। वडा नं. १ को ३४, २५ र २६ नं पिलर रहेका लेक तथा खर्कहरु गाउँलेहरुले खचाखच भएको स्थानीयको भनाइ छ। त्यस्तै वडा नं. ७ को छेक्या र भाज्यो लेकमा पनि गाउँलेहरु पुगेको वडाअध्यक्ष टासी दोर्जे लामाले बताए।

समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको भाज्यो लेक पुग्न छेकम्पारबाट ६ घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्छ। त्यहाँ अहिले छेकम्पारको ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे र निले गाउँका बासिन्दाहरु अस्थायी शिविर बनाएर बसोबास गर्छन्।

समुद्री सतहबाट चार १६५ मिटर उचाइमा अवस्थित छेक्या लेकमा भने छेकम्पार, झोङ र बुर्जी गाउँका बासिन्दाहरु त्रिपाल टाँगेर अस्थायी बसोबास गरेको वडाअध्यक्ष लामाले जानकारी दिए। त्यसैगरी चारहजार मिटरभन्दा अग्लो फुचुन लेकमा छुले गाउँका ४५ घरधुरीको अस्थायी बसोबास रहेको उनको भनाइ छ।

वडा नं. ७ का सबै गाउँका ८१२ घरधुरीका बासिन्दाहरु अहिले यिनै लेकमा यार्सागुम्बा सङ्कलन गर्न व्यस्त छन्। महिला, बालबालिका, वृद्धवृद्धा तथा युवाहरु सबै बिहान ८ बजे शिविरबाट निस्कने, दिनभर यार्सागुम्बा सङ्कलन गर्ने र साँझ ६ बजे बल्ल शिविर भित्रिने गर्छन्।

यतिबेला चुमनुब्री–७ का गाउँ पनि सुनसान छ। वडाध्यक्ष टासी दोर्जेले केही घरमा बुढाबुढी मात्रै रहेको र अधिकांश घर खाली भएको बताए। कसैले भने रोङ्वा (तल्लोभेगका) लाई मासिक तलब दिएर घर कुरुवा राखेको उहाँको भनाइ छ। चुमनुब्री–३ फिलिम, पाङसिङतिरका महिलालाई मासिक रु २० हजार तलब दिएर दुई महिनाका लागि घर कुरुवा राखिएको उहाँले जानकारी दिए।

गाउँलेहरु बिहान सबेर क्याम्पबाट निस्केर साँझ अबेर क्याम्पमा छिर्छन्। “बिहान खाना खाइवरी ८ बजे यार्सा टिप्न जाने र साँझ ६ बजेपछि मात्रै क्याम्पमा आइपुग्छन्”, केही समयअघि भाज्यू, छेक्यार र फुचुन लेक पुगेर फर्कनुभएका मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारी सुवास नेपालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *