गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा बिदा
नेपालगन्ज। गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन्।
नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा यही जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गरेको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए। उनका अनुसार नेपालगन्जका ४२ सामुदायिक, संस्थागत ८२ र धार्मिक ३९ विद्यालयमा गर्मी बिदा दिने निर्णय गरिएको हो।
खजुरा गाउँपालिकामा पनि यही जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिइएको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए।
केही दिनयता बाँकेसहित तराईका जिल्लामा उच्च तापक्रम र तातो हावाले जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार आजको अधिकतम तापक्रम नेपालगन्जमा ४१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले खजुरामा ४० दशमलव सात र कोहलपुरमा ४१ दशमलव दुई अधिकतम तापक्रम ‘रेकर्ड’ भएको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment