घरेलु मैदानमा मेक्सिकोको चुनौती, दक्षिण अफ्रिकासँग उद्घाटन खेलबाट विश्वकप २०२६ को सुरुआत
काठमाडाैं। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। मेक्सिको सिटीस्थित रंगशालामा हुने यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ बजे सुरु हुनेछ।
यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ। प्रतियोगितामा ४८ टोली सहभागी छन् भने कुल १०४ खेल खेलाइनेछन्। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका गरी तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताका खेलहरू १६ शहरमा सञ्चालन हुनेछन्। उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ।
घरेलु समर्थकको साथ पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ। रोचक संयोग के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्तिजस्तै बनेको छ। दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले अग्रता लिए पनि मेक्सिकोका कप्तान राफायल मार्केजले बराबरी गोल गर्दै खेल १–१ मा टुंगिएको थियो।
यसपटक मार्केज खेलाडीका रूपमा नभई मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेका सहायक प्रशिक्षकका रूपमा टोलीसँग छन्। प्रशिक्षक अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु आफ्ना खेलाडीका लागि विशेष प्रेरणाको विषय भएको बताएका छन्।
उनले पाँच दशक लामो फुटबल यात्रामा घरेलु मैदानमा विश्वकप खेल्नुजत्तिको रोमाञ्चक अनुभव नपाएको उल्लेख गर्दै खेलाडीहरू पनि यो अवसरलाई विशेष रूपमा महसुस गरिरहेको बताए। टोली परिवारझैँ एकताबद्ध रहेको र त्यसले उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने उनको विश्वास छ।
अर्कोतर्फ दक्षिण अफ्रिका अफ्रिकी छनोटको समूह ‘सी’ को विजेता बनेर विश्वकपमा पुगेको हो। टोलीका प्रशिक्षक हुगो ब्रुसले मेक्सिको समूहकै बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम मिनेटसम्म प्रत्येक बलका लागि संघर्ष गर्ने बताएका छन्।
दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेनाले उद्घाटन खेलप्रति टोली निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। विश्वकपमा खेल्नु प्रत्येक खेलाडीको सपना भएको उल्लेख गर्दै उनले स्वदेशी समर्थकका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए।
दक्षिण अफ्रिकाले खेलअघि सुखद समाचार पनि पाएको छ। ह्यामस्ट्रिङ चोटका कारण केही समय मैदानबाहिर रहेका लेफ्ट–ब्याक अउब्रे मोडिबा पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ।
मेक्सिकोको सम्भावित सुरुआती टोलीमा रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेज रहनेछन्। यता दक्षिण अफ्रिकाबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मोडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिसले सुरुआत गर्ने सम्भावना छ।
भरिभराउ रंगशाला, विश्वभरका करोडौं दर्शक र नयाँ इतिहास रचिने अपेक्षाबीच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पर्दा उठ्दैछ। मेक्सिको घरेलु समर्थकमाझ विजयी सुरुआत गर्ने प्रयासमा हुनेछ भने दक्षिण अफ्रिका प्रतियोगिताको पहिलो खेलमै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।







डिसी नेपाल







Facebook Comment