बाँसगढी पार्क : अध्ययन भयो, निर्माण भएन
दाङ। दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बाँसगढी पार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको नौ वर्ष भइसक्दासमेत निर्माणको कामले भने गति लिन सकेको छैन।
विसं २०७४ मा उक्त पार्कको डिपीआर तयार भएको थियो। त्यसयता तीनपटक मात्रै बजेट आएको छ। विसं २०७९/८० मा रु २० लाख बजेट आएको थियो। त्यो बजेटले पर्खाल, खानेपानी ट्याङ्की, दुई वटा धारालगायतका संरचना निर्माण गरिएको छ।
आव २०८०/८१ मा रु ५५ लाख बजेट आएको थियो। जसबाट गोलघर, शौचालय, खानेपानी ट्याङ्कीलगायत केही भवन बनेका छन्। चालु वर्षमा रु सात लाखमा तारजाली निर्माण भएका छन्। तीनै पटक लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको निर्माण समितिका अध्यक्ष मस्तबहादुर थापाले बताए।
तर पर्याप्त बजेट नआउँदा निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ। यस क्षेत्रको पर्यटकीय विकासका लागि उक्त पार्कले भूमिका खेल्न सक्ने भए पनि निर्माणले गति लिन नसकेको उनको भनाइ छ।
रु पाँच करोड बराबरका संरचना निर्माण गरेर पर्यटकीयस्थल बनाउने गरी डिपीआर तयार भएको थियो। तीन बिघा जग्गामा ‘वाटर फाउण्टेन’, ‘स्वीमिङ पुल’,‘पिक्निक स्थल’ लगायत संरचना निर्माण गर्ने गरी डिपीआर बनेको थियो। त्यस जग्गामा तारबार भने भइसकेको छ। नजिकै पानीको मुहान भएकाले पनि पानीको समस्या छैन भने सामुदायिक वन क्षेत्र भएकाले वातावरण मनोरम छ।
बाँसगढीमा अहिले विशेषगरी शनिबार र बिदाको दिनमा वनभोज खान गाउँगाउँबाट विभिन्न टोली पुग्ने गरेका छन्।







डिसी नेपाल







Facebook Comment