सचेतनामूलक कार्यक्रमसहित आज देशभर विश्व रक्तदाता दिवस मनाइँदै

डिसी नेपाल
३१ जेठ २०८३ ७:४८

काठमाडौं। सुरक्षित रगतको महत्त्वबारे जनचेतना जगाउने र अमूल्य जीवन बचाउन योगदान गर्ने रक्तदाताहरूलाई धन्यवाद दिने उद्देश्यका साथ आज (आइतबार) देशभर विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदैछ।

हरेक वर्षको जुन १४ का दिन संसारभर यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि यस अवसरमा रक्तदानको आवश्यकता र यसको मानवीय महत्त्वलाई केन्द्रित गरेर सचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

यस विशेष दिवसको मुख्य लक्ष्य सुरक्षित रगत र रगतबाट बन्ने विभिन्न उत्पादनहरूको आवश्यकताबारे समाजमा व्यापक सचेतना फैलाउनु हो। यसका साथै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न प्रेरित गर्दै आएका निरन्तर रक्तदाताहरूको योगदानको कदर गर्ने दिनका रूपमा पनि यसलाई लिइन्छ।

रगतको विकल्प रगत नै भएकाले समयमै रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने सन्देश प्रवाह गर्न यो दिवस निकै महत्त्वपूर्ण मानिन्छ।

यही अवसर पारेर देशभरका विभिन्न सामाजिक संघसंस्था, क्लव र अस्पतालहरूले रक्तदान सम्बन्धी जनचेतना फैलाउने, नयाँ दाताहरूलाई प्रोत्साहन गर्ने र विशेष रक्तदान कार्यक्रमहरू आयोजना गरिरहेका छन्।

नेपालमा रक्तदानको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको संस्था ब्लड डोनर्स एसोसिएसन नेपालले पनि दिवसको अवसरमा विशेष र प्रभावकारी कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउँदै आएको छ। यस्ता कार्यक्रमहरूले मुलुकमा भइरहने रगतको अभावलाई न्यूनीकरण गर्न र आकस्मिक अवस्थामा सहजै सुरक्षित रगत उपलब्ध गराउन ठुलो मद्दत पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *