सदस्यता विवादले तन्कियो कांग्रेसको आन्तरिक दूरी: कोशी प्रदेशमा इतर समूहको शक्ति प्रदर्शन
विराटनगर। नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र गुटबन्दी पुनः सतहमा आएको छ।
पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र निष्पक्षता कायम गर्न नसकेको आरोप लगाउँदै आएको संस्थापन इतर पक्षले आज मोरङको विराटनगरमा बृहत् प्रदेशस्तरीय भेलाको आयोजना गरेको छ।
कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने यस भेलालाई पार्टीको केन्द्रीय नेतृत्वमाथि बलियो दबाब सिर्जना गर्ने रणनीतिक कडीका रूपमा हेरिएको छ।
विशेष गरी कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति विजयकुमार गच्छदारले एउटै मञ्चबाट भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि यसलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
कांग्रेसभित्र हाल सदस्यता वितरण, कार्यविभाजन र आगामी महाधिवेशनको अंकगणितलाई लिएर संस्थापन र इतर समूहबीच तीव्र विवाद चर्किएको छ।
कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राईले पार्टीभित्र संस्थापन पक्षका कारण देखिएका नीतिगत तथा सांगठनिक कमजोरीहरू सच्याउन र केन्द्रीय नेतृत्वलाई भुइँतहका कार्यकर्ताको वास्तविक भावना बुझाउन यो दबाब भेला आयोजना गरिएको बताए।
इतर समूहले वर्तमान नेतृत्वकै कारण पार्टी कमजोर बन्दै गएको र भ्रातृ संस्थाहरू भंग हुने अवस्थामा पुगेको आरोप लगाउँदै आएको छ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अद्यावधिक (नवीकरण र वितरण) प्रक्रियाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
नेता कार्कीले हालको अनलाइन अद्यावधिक प्रक्रिया प्राविधिक र नीतिगत रूपमा त्रुटिपूर्ण एवं पूर्वाग्रही रहेको दाबी गर्दै यसले पार्टीको लोकतान्त्रिक छविमा अपूरणीय नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।
यो आन्तरिक विवाद सदस्यता नवीकरणको म्याद गुज्रिसक्दा पनि सुल्झिन सकेको छैन। केन्द्रीय समितिले तोकेको क्रियाशीलता अद्यावधिक गर्ने अन्तिम समयसीमा सकिँदा समेत इतर समूहका धेरैजसो जिल्ला सभापति र नेताहरूले आफ्नो समूहको माग सुनुवाइ नभएको भन्दै विवरण अद्यावधिक गराएका छैनन्।
संस्थापन पक्षले विधान विपरीत जिल्ला र क्षेत्रीय समितिहरूलाई बाइपास गरेर केन्द्रबाटै सोझै सदस्यता वितरण गर्न खोजेको इतर पक्षको मुख्य जिकिर छ। विराटनगरबाट सुरु भएको यो देशव्यापी दबाब अभियानलाई इतर समूहले सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको छ।
केन्द्रमा सभापति थापाले एकलौटी निर्णय प्रक्रिया बढाउँदै लगे देशैभरि समानान्तर गतिविधि सञ्चालन गर्ने र केन्द्रलाई घुँडा टेक्न बाध्य पार्ने रणनीति इतर पक्षले बनाएपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले आगामी दिनमा थप उग्र रूप लिने निश्चित देखिएको छ।







डिसी नेपाल







Facebook Comment