कांग्रेस अब फुटिसक्यो, पार्टी एकता नै आजको आवश्यकता : डा. शशांक कोइराला
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा फुटिसकेको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
कांग्रेस अत्यन्तै कमजोर अवस्थाबाट गुज्रिरहेको बताउँदै डा. कोइरालाले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए। उनले प्रश्न गरे, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ?’ उनले पार्टी सुधारका लागि नेतृत्वले रुढिवादी सोच त्यागेर पहिले आफूमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
आफू कोइराला निवास पुग्दाको भावुक क्षण स्मरण गर्दै उनले भने, ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो। कांग्रेस आज टुक्रिएको छ, यसलाई टुक्र्याइएको छ। अदालतले बनाएको विभाजनको रेखा गलत थियो।’
उनले पार्टीभित्रको आन्तरिक कलहका कारण गाउँगाउँमा कांग्रेसका कार्यकर्ता भए पनि निर्वाचनमा मत खस्न नसकेको यथार्थ औंल्याए। उनले थपे, ‘अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बेला आएको छ।’
डा. शशांक कोइरालाले पार्टीलाई पुन: एकताबद्ध गर्ने अभियानको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै त्यसमा आफ्नो पूर्ण साथ र समर्थन रहने संकेत गरेका छन्। उनले पार्टीलाई बलियो बनाउन एकता नै अहिलेको मुख्य लक्ष्य हुनुपर्ने धारणा राखे।







डिसी नेपाल







Facebook Comment