युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील छः मन्त्री यादव

डिसी नेपाल
३१ जेठ २०८३ २१:४०

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील रहेको बताएका छन्।

नेपाली युवा उद्यमी मञ्चले आज यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’लाई सम्बोधन गर्दै मन्त्री यादवले युवालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्न सरकारले राष्ट्रिय अभियान अगाडि बढाएको बताए। उनले सरकार एक्लैले रोजगार सिर्जना गर्न नसक्ने र रोजगार सिर्जना गर्ने निजी क्षेत्रले नै भएको बताए। मन्त्री यादवले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धनको दशक’का रूपमा मनाइने बताए। देशको समृद्धि युवाको पसिना स्वदेशमै बगाउँदा मात्र सम्भव हुने उनको भनाइ थियो।

मन्त्री यादवले आफ्नो मन्त्रालयको ८० प्रतिशत समय वैदेशिक रोजगारीका समस्या समाधानमा खर्च भइरहेको बताए। ‘सरकार, रोजगारदाता र श्रमिक’ बीचको त्रिपक्षीय सहकार्यमार्फत रोजगारीका अवसर वृद्धि गरिने उनको भनाइ थियो। सूचना प्रविधि, पर्यटन, कृषि प्रशोधन र ‘ग्रीन इकोनोमी’मा नेपालको उज्ज्वल भविष्य रहेको मन्त्री यादवले उल्लेख गरे। उनले सरकार सधँै उद्यमीको साथमा रहेको बताए।

नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेले देशका विभिन्न क्षेत्रका युवा उद्यमीलाई एउटै मञ्चमा ल्याउने र उद्यमशीलताका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए। उनले मञ्चमा आबद्ध युवा उद्यमीले हाल देशभर ८० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको बताए। दुई दशक अगाडि केही युवा उद्यमीको सपनाबाट सुरु भएको मञ्चमा अहिले देशका १५ वटा च्याप्टर र १२०० भन्दा बढी सक्रिय सदस्यको बलियो राष्ट्रिय सञ्जालमा विस्तार भएको उनले बताए।

सम्मेलनमा स्टार्टअप संस्थापक, नवप्रवर्तनकर्ता र पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्‍याइरहेका युवा नेतृत्वको उपस्थिति रहेको थियो। उनले सरकारले हालै सार्वजनिक गरेको बजेटमा ‘स्टार्टअप’ र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरे। सम्मेलनमा युवा उद्यमीले राज्य, निजी क्षेत्र र वित्तीय संस्थालाई युवाको नवीन सोच र ऊर्जामा लगानी गर्न आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *