‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
काठमाडौं। कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ। सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ। टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित भए।
पुस्तकको चर्चा जति थियो, उत्तिकै उहाँले लगाउने पहिरनले पाठकको ध्यान खिचेको थियो। खासगरी नेपाली समाजमा च्यातिएको र टालिएको लुगा लगाउनु गरिबीको सङ्केत दिन्छ। तर, फेशन डिजाइनर गुरुङले भने आफूले लगाएको उक्त टालेको सर्ट निकै महँगो अमेरिकी डलरमा किनेको बताए। “टालेको सर्ट अमेरिकामा डलर हालेर किनेर लगाए, यो स्टाइल हो।”
शनिबार जमलस्थित मण्डला बुक प्वाइन्टमा पुस्तक हस्ताक्षर कार्यक्रममा देखिनुभएका गुरुङले भने, “लुगा कस्तो लगाउनेभन्दा पनि कसले र कति आत्मविश्वासका साथ लगाएको छ भन्ने कुराले निकै महत्व राख्छ।” उनले आत्मविश्वासका साथ टालेको लुगा लगाउदा पनि राम्रो र प्रभावकारी व्यक्तित्व झल्किन सक्ने सन्देश दिन उक्त पहिरन लगाएको बताए।
अमेरिकामा बस्दै आएका गुरुङ प्रत्येक एक वर्षमा दुई पटक नेपाल आउने गर्छन्। नेपालमै बसोबास गर्ने परिवारलाई भेट्न उनले जतिसुकै व्यस्त भए पनि समय मिलाउने गरेको बताए। “जहाँ जाउ यो मन त मेरो नेपाली नै हो नी”, गुरुङले भने, “नेपाली खाना, मुमा (आमा) को माया र यहाँको संस्कृतिले मन छुन्छ। वर्षमा दुई पटक आमाको हातले पकाएको गुन्द्रुकको अचार, दाल भात खान आएकै हुन्छु।”
नेपाली मुलुकका गुरुङ सिङ्गापुरमा जन्मिनुभयो र भारतमा हुर्किए। दिल्लीको नेशनल फेशन इन्स्टिच्युटमा अध्ययन गरेर उनले फेशन डिजाइनरको करिअर न्यूयोर्कबाट सुरु गरे । गुरुङले सन्, १९९९ मा न्युयोर्कबाट फेशन डिजाइनसम्बन्धी औपचारिक शिक्षा लिए। साथै, अन्तरराष्ट्रिय ब्रान्डमा फेशन यात्रामा सक्रिय भई सफलताको उचाइमा पुगेका हुन्।
गुरुङले हलिउडदेखि बलिउड फिल्मी क्षेत्रका प्रख्यात व्यक्तित्वहरुका लागि फेशन डिजाइन गरेर नेपालको नाम स्थापित गरेका छन्। उनले तत्कालिन अमेरिकी प्रथम महिला मिचेल ओमाबादेखि बेलायती राजकुमारीको रोजाइको पहिरन फेसन डिजाइन गरेपश्चात् भने अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा चुलिएको थियो। यसलाई गुरुङले करिअरको सबैभन्दा महत्वपूर्ण क्षणका रुपमा लिए।
फेशन डिजाइन यात्रामा झण्डै तीन दशक परिपक्व देखिए पनि गुरुङ यस क्षेत्रमा भर्खरै सुरुआत गर्दै गरेको धारणा राखे। उनका अनुसार फेशन क्षेत्रमा सिक्ने तत्परता सधैँ कामय राख्नुपर्छ। सिक्ने निरन्तरतालाई नै उहाँले आफ्नो सफलताको मुल सुत्र मान्नुभएको छ। गुरुङले भन्नुहुन्छ, “फेशन क्षेत्र सागर हो। जति सिक्दै गयो उति गहिराइमा पुगिन्छ। त्यसैले मैले यस क्षेत्रमा भर्खरै बामेसर्दै गरेको शिशु ठान्छु। अझै धेरै काम गर्न बाँकी छ।”
हारपर कोलिन्सले सन्, २०२६ मा प्रकाशन गरेको गुरुङको पुस्तक ‘वक लाइक अ गल्स’ को कथा रोचक छ। उनले केटीको चालमा केन्द्रित भएर पुस्तकको शीर्षक राख्नुमा गुरुङकै बाल्यकालको भोगाइ समेटिएको बताए। सानो छँदा केटी जस्तै हिँड्ने भन्दै साथीभाइले गिज्याउने गरेको क्षणलाई उहाँले किताबको मुख्य शीर्षक बनाएको सुनाए।
सृष्टि सिर्जना गर्ने क्षमता राख्ने महिला पात्रप्रति समाजको हेपाह दृष्टिलाई चिर्न पनि पुस्तकको शीर्षक यस्तो राख्नुपरेको गुरुङले बताए। “केटी जस्तो हिँड्दा के फरक पर्छ ? म त भन्छु हिँडाइ केटीको जस्तै हुनुपर्छ”, उनले भने, “जहाँ, शान्ती, सभ्यता र गाम्भीरता झल्किन्छ।” एक अर्थमा गुरुङले पुस्तकमार्फत नारी अस्तित्वलाई स्वीकार भावले हेर्न आग्रह गरेको प्रष्ट पारे।
यसैगरी, अर्को दृष्टिमा आफ्नो पुस्तकले युवापुस्तालाई लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरणा मिल्नसक्ने गुरुङले विश्वास व्यक्त गरे। उनले भने, “मैले चर्चा पाउन काम सुरु गरिन्, मेहनतको निरन्तरताले गर्दा सफलता आफैँ आउँदै गयो। पुस्तकले यही सन्देश दिन खोजेको छ, मेहनत गर। सफलता आफैँ आउँछ”, मण्डला बुक प्वाइन्टका प्रमुख सिद्धार्थ महर्जनले गुरुङको हस्तारक्षित १०० भन्दाबढी पुस्तक बिक्री भएको बताउनुभयो। पाठकहरु पुस्तक किन्नुका साथै गुरुङसँग भलाकुसारी गर्ने अवसर पाउँदा हर्षित थिए।







डिसी नेपाल







Facebook Comment