कथा : स्क्रिनको क्षितिज

योगी नारायण नाथ
१ असार २०८३ ११:२६

इटहरीको रात्रिकालीन सुनसान परिवेश। बाहिर चिसो हावा सरसराइरहेको थियो, तर कोठाभित्र भने पाँच वाटको मधुरो चिममुनि महेशको मनमा एउटा फरक खालको राप बलिरहेको थियो। उनको हातमा भएको स्मार्टफोनको स्क्रिन अचानक चम्कियो-म्यासेन्जरमा सुलक्षणाको सन्देश थियो।

उनीहरूबीच फेसबुकमा मित्रता गाँसिएको धेरै भएको थिएन। एक साहित्यिक कार्यक्रममा सुलक्षणाका मीठा र शालीन कथा तथा कविताहरू सुनेपछि महेशले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएका थिए, जुन तुरुन्तै स्वीकार भएको थियो।

उनीहरू कहिल्यै आमनेसामने भएका थिएनन्, न त एउटै सहरमा नै थिए। यो केवल दुईवटा अदृश्य मोबाइल स्क्रिन र अक्षरहरूको सम्बन्ध थियो। तर, सुलक्षणाको बोलीको मिठास र स्पष्टवादिताले महेशलाई छोटो समयमै मन्त्रमुग्ध बनाइसकेको थियो।

च्याटको सिलसिला गहिरिँदै जाँदा सुलक्षणाले आफ्ना कतिपय निजी पाटाहरू उघारेकी थिइन्। उनी विवाहित हुनु, तर लामो समयदेखि पतिभन्दा टाढा एक्लै बस्नु जस्ता कुराले महेशलाई उनीप्रति झन् नजिक गराएको थियो।

महेशले पनि आफ्नो तर्फबाट केही कुराहरू राखेका थिए। बिस्तारै उनीहरूको संवाद कविता र समालोचनाबाट मोडिएर मानव जीवनका जटिल मोडहरूतिर प्रवेश गर्‍यो।

गत हप्ता मात्र उनीहरूबीच ‘वैवाहिकेतर सम्बन्ध’ र अन्य सामाजिक यौन परम्पराका बारेमा लामो संवाद भएको थियो। सुलक्षणाले च्याटमा लेखेकी थिइन्-“महेशजी, मेरो विचारमा यदि पति र पत्नी सँगै बस्छन् भने, शारीरिक या मानसिक सन्तुष्टिका लागि अरू व्यक्तिसँग सम्बन्ध बनाउनु नैतिक अपराध हो। सँगै बस्नु भनेको जिम्मेवारी र निष्ठा दुवै हो।”

यो म्यासेज पढ्दा महेश आफ्नै ओछ्यानमा पल्टिएका थिए। कोठाको अर्को कुनामा उनकी पत्नी निधारमा चन्दन घस्दै धार्मिक पुस्तक पल्टाउँदै थिइन्। विगत तीन वर्षदेखि उनीहरूको दाम्पत्य जीवनमा कुनै शारीरिक निकटता थिएन।

धर्म-कर्म र आध्यात्मिकतामा एकहोरो डुबेकी पत्नीको शरीर महेशका लागि केवल एउटा काठको तखता जस्तै मात्र भएको थियो। बढ्दो उमेरसँगै महेशमा पनि केही शारीरिक कमजोरीहरू त थिए, तर मनभित्रको अतृप्त पुरुष अझै जागृत थियो।

सुलक्षणाको सोही म्यासेजलाई महेशले आफ्नो मस्तिष्कमा पटक-पटक घुमाए र आफ्नो अनुकूलता अनुसारको एउटा नयाँ अर्थ निकाले- ‘सुलक्षणाको भनाइको अर्थ त- जो पति-पत्नी सँगै बस्छन्, उनीहरूले मात्र अन्यत्र सम्बन्ध राख्नु हुँदैन भन्ने पो हो त! तर सुलक्षणा त लामो समयदेखि पतिभन्दा टाढा, एकल र अतृप्त छिन्। र म पनि श्रीमतीसँगै भएर पनि विगत तीन वर्षदेखि पूर्ण रूपमा एकल र अतृप्त छु। त्यसैले हामी जस्ता अपूर्ण र अतृप्त मानिसहरूले आफ्नो खुसी र शारीरिक सन्तुष्टिका लागि सम्बन्ध राख्न त मिल्छ नि, यसलाई त अनैतिक भन्न मिल्दैन!’

यो आत्मपरक विश्लेषणले महेशको मनमा सुलक्षणाप्रति झन् तीव्र आकर्षण पैदा गरिदियो। उनलाई लाग्यो, सुलक्षणाले घुमाउरो पाराले आफ्नै स्थितिको वकालत गरेकी हुन् र उनी जस्ती बौद्धिक महिला नै आफ्नो यो शून्य जीवनको मरुभूमिमा शीतल जल हुन सक्छिन्।

आजको च्याट यही मानसिकताको जगमा अझ बढी व्यक्तिगत र संवेदनशील मोडमा पुगेको थियो। महेशले सोधेका थिए, “हामी कहिल्यै नभेटेका अनलाइनका साथी मात्र हौँ, तैपनि मलाई लाग्छ हामी धेरै नजिक छौँ। सुलक्षणाजी, यदि कसैको जीवन सँगै भएर पनि मरुभूमि जस्तो सुख्खा छ भने, उसले ओएसिस खोज्नु गल्ती होइन नि, होइन र?”

सुलक्षणाको ‘Typing…’ लेखेको संकेत स्क्रिनमा देखियो। महेशको मुटुको धड्कन तीव्र भयो। केही बेरमै म्यासेज आयो- “होइन महेशजी, अतृप्ति त मानव स्वभाव हो। तर म अनलाइनको यो भर्चुअल संसार र वास्तविकतालाई फरक राख्छु। म कसैसँग प्रत्यक्ष नभेटेसम्म र उसको नियत नबुझेसम्म समाजको दायरा नाघ्न सक्दिनँ।”

यो म्यासेज महेशका लागि एउटा चुनौती र अवसर दुवै बनेर आयो। सुलक्षणाको ‘प्रत्यक्ष नभेटेसम्म’ भन्ने शब्दले उनको चाहनालाई झन् बलियो बनायो। उनी सुलक्षणालाई कफी सपमा भेट्ने वा गफिने कुरामा मात्र सीमित राख्न चाहँदैनथे। उनको मनमा केवल शारीरिक तृष्णा र यौन सम्पर्कको प्रस्ताव राख्ने तीव्र इच्छा जागृत भयो। उनी यो भौतिक दूरीलाई मेट्न चाहन्थे।

उनले म्यासेन्जरको की-बोर्डमा सिधै प्रस्ताव टाइप गरे- “हामी प्रत्यक्ष नभेटे पनि मन त मिलिसक्यो नि। सुलक्षणाजी, म तपाईंरूसँग केवल एउटा सानो साहित्यिक साथीका रूपमा मात्र होइन, एउटा पुरुषका रूपमा भौतिक रूपमै नजिक हुन चाहन्छु। के हामी केवल शारीरिक सन्तुष्टि र यो अतृप्ति मेटाउनका लागि मात्र भेट्न सक्छौँ? म तपाईंलाई मात्र…”

पठाउनुअघि उनले टाइप गरेका शब्दहरूलाई फेरि एकपटक पढे। औँला ‘Send’ बटनमाथि पुगेर हावामै रोकियो।

एकातिर कहिल्यै नभेटेकी, तर आफ्नो सिद्धान्त स्पष्ट राख्ने महिलाको कडा नैतिक धारणा थियो, जहाँ अलिकति पनि सन्तुलन बिग्रिए आत्मीयता एकै पलमा ‘ब्लक’ हुन सक्थ्यो। अर्कोतिर उनको आफ्नै तीन वर्षदेखिको शून्य र अतृप्त वैवाहिक जीवनको पीडा थियो, जसलाई सुलक्षणाको म्यासेजले एउटा वैध बाटो देखाइसकेको थियो।

महेश लामो श्वास फेर्दै स्क्रिनमा टोलाइरहे। बाहिर रात झन्झन् गाढा र चिसो हुँदै गइरहेको थियो। मोबाइलको बत्ती उनको अनुहारमा परिरहेको थियो। उनले ‘Send’ बटन थिचेर आफ्नो भित्री शारीरिक चाहना उजागर गरे वा ‘Erase’ गरेर सधैँका लागि त्यो अतृप्तिलाई मनमै दबाए?

त्यो निर्णय मोबाइलको स्क्रिन र महेशको दोधारको बीचमा अनुत्तरित नै रह्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *