बागलुङका पशुपालक किसानको परम्परागत यात्रा: बर्खा लागेसँगै वस्तुभाउसहित बुकीपाटन उक्लिन थाले गोठाला
ढोरपाटन (बागलुङ)। काँधमा खाद्यान्न र लत्ताकपडाको भारी, साथमा सयौँको संख्यामा रहेका गाईभैँसी र भेडाबाख्राका बथान, अनि पसिनाले निथ्रुक भिजेको शरीरका साथ अनुहारमा थकान बोकेका गोठालाहरू यतिबेला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकखण्डमा जताततै भेटिन थालेका छन्।
बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसानहरू हरेक वर्ष झैँ यसपालि पनि आफ्ना वस्तुभाउ लिएर लेकका खर्क र बुकीपाटनतर्फ उक्लिन थालेका हुन्। गत असोज महिनामा जाडो छल्नका लागि बेँसी झरेका यी गोठालाहरू हिउँद सकिएर वर्षात् सुरु भएपछि पुनः लेकको यात्रामा निस्किएका हुन्।
एउटै परिवारले दर्जनौँको सङ्ख्यामा पशुचौपाया पाल्ने भएकाले बेँसीमा मात्रै घाँस नपुग्ने हुँदा उनीहरूले हिउँद र बर्खाको समयमा लेक-बेँसी गरेर परम्परागत रूपमा पशुपालन गर्दै आएका छन्।
जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोटलगायतका स्थानबाट अधिकांश किसानहरू पशुपालनमा आबद्ध छन् र उनीहरू यतिबेला लेक उक्लने धुनमा छन्।
कतिपय गोठालाहरू जेठको दोस्रो साता नै बुकीपाटन पुगिसकेका छन् भने धेरैजसो किसानहरू यतिबेला बाटोमा यात्रा गरिरहेका छन्। समुद्री सतहदेखि तीन हजारदेखि चार हजार आठ सय मिटरको उचाइसम्मको चरन क्षेत्रमा पुग्ने यी गोठालाहरू अबका चार महिनासम्म उतै बस्नेछन् र आगामी असोजमा मात्रै गाउँ (बेँसी) फर्कनेछन्।
बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त मात्रामा हरियो घाँस पाइने हुँदा उनीहरूले बर्खाभरिको समय उतै बिताउने गर्छन्। लेकमा टेलिफोन र विद्युत्को कुनै सुविधा नहुने भएकाले यो चार महिनाको अवधिमा उनीहरूको परिवारसँग कुनै फोन सम्पर्कसमेत हुँदैन। असारदेखि असोजको बीचमा कोही बिरामी परेमा, खाद्यान्न सकिएमा वा अन्य कुनै आकस्मिक घटना भएमा मात्र उनीहरू बेँसी झर्ने गर्छन्।
यो कठिन यात्राका क्रममा गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला तथा ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा र स्यार्चुङलगायतका अग्ला पहाडी खर्कहरूमा पुग्ने गर्छन्।
निसीखोला गाउँपालिका-५ का किसान किरबहादुर घर्ती मगरका अनुसार बेँसीका बारीमा बर्खे खेतीपाती सकेर उनीहरू लेक उक्लिएका हुन् र अब सिधै दसैँ मनाउनका लागि मात्रै गाउँ झर्नेछन्।
यति धेरै वस्तुभाउलाई एकै ठाउँमा राखेर पाल्न नसकिने, बेँसीमा गर्मी बढ्ने र लेकमा यतिबेला शीतल हुनुका साथै नयाँ घाँस पलाइसकेकाले चरनका लागि सहज हुने उनीहरूको अनुभव छ।
लेकमा बस्दा किसानहरूले पशुपालन मात्र गर्दैनन्, फुर्सदको समयमा काठका परम्परागत भाँडाकुँडा र चोयाका सामग्रीहरू समेत बनाउने गर्छन्, जसलाई बेँसी झरेपछि बजारमा बिक्री गरेर उनीहरूले आम्दानी गर्ने गर्छन्।
तमानखोला गाउँपालिका-५ का किसान शेरबहादुर सिर्पालीले घरमा श्रीमती बिरामी भएको र बारीमा बाली लगाउन ढिला भएकाले यस वर्ष लेक उक्लिन अलि ढिला भएको बताए। उनका छिमेकीहरू एक साताअघि नै बुकी उक्लिसकेका छन्।
ढोरपाटनको बुकीपाटन क्षेत्रमा बागलुङका मात्र नभएर छिमेकी जिल्लाहरू रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानहरू पनि आफ्ना भेडाका बथान लिएर चरनका लागि आउने गर्छन्।
जेठको २३ गते नै बुकीपाटन पुगिसकेका ढोरपाटन नगरपालिका-६ का पुनराम अदैका अनुसार लेकमा घाँस राम्रोसँग पलाइसकेकाले अबको एक साताभित्र बेँसीमा रहेका सबै गोठालाहरू लेक उक्लिसक्नेछन् र बुकीपाटन क्षेत्र गोठाला र वस्तुभाउले भरिभराउ हुनेछ। तीन-चार दशकदेखि यही पेशामा रमाइरहेका यी किसानहरूका लागि लेक-बेँसीको यो चक्र नै जीवन धान्ने मुख्य आधार बनेको छ।







डिसी नेपाल







Facebook Comment