परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति एमाले सांसद पद्मा अर्यालको असन्तुष्टि: ‘न्यानो आतिथ्यतामा रमाउँदै राष्ट्रवाद बिर्सियो’

डिसी नेपाल
१ असार २०८३ ११:४८

काठमाडौं। नेकपा (एमाले) की सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको हालै भएको भारत भ्रमणप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई पूर्ण रूपमा बेवास्ता गरिएको गम्भीर आरोप लगाएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अर्यालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर निरन्तर विरोध भइरहेको संवेदनशील अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन्।

सुरुमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका ऐतिहासिक असमझदारीहरू हटाउन यो भ्रमण फलदायी हुने आफूहरूले अपेक्षा गरे पनि भ्रमणबाट कुनै अपेक्षित परिणाम आउन नसकेको उनको दाबी थियो।

बैठकमा आफ्नो धारणा राख्दै अर्यालले प्रधानमन्त्रीको ‘राष्ट्रघाती’ अभिव्यक्तिका विरुद्ध एमालेले सदनमा कडा संघर्ष गरेको दाबी गरिन्। देशको प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिले राष्ट्रलाई ठूलो नोक्सान पुर्‍याएको ठहर गर्दै एमाले प्रतिपक्षमा रहँदा सदनमा आवाज उठाएको तर बजेटमाथिको महत्त्वपूर्ण छलफल र समयमै बजेट पास गर्नुपर्ने संसद्को प्रमुख जिम्मेवारीलाई बोध गर्दै आफूहरूले संघर्षको स्वरूप परिवर्तन गरेको उनले प्रस्ट पारिन्।

यस्तो पृष्ठभूमिमा छिमेकी मुलुक भारत भ्रमणमा जानुभएका परराष्ट्रमन्त्रीले विद्यमान असमझदारी हटाउन ठोस पहल गर्ने विश्वास गरिए पनि सोचे अनुरूप नभएको उनको भनाइ थियो।

सांसद अर्यालले परराष्ट्रमन्त्रीको आलोचना गर्दै अगाडि भनिन्, “हामी खुसी भएका थियौँ कि भारत भ्रमण गरेर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनुहुनेछ तथा विद्यमान असमझदारी हटाउन सहयोग गर्नुहुनेछ। तर दुर्भाग्यको कुरा, उहाँ उताको न्यानो आतिथ्यतामा मात्र रमाउनुभयो र त्यहाँ बिच्छ्याइएका राता कार्पेटहरूलाई कुल्चेर राष्ट्रवादलाई नै भुल्नुभएछ।”

उनले परराष्ट्रमन्त्रीको यो शैलीले राष्ट्रहित विपरीतका गतिविधिहरू भएको संकेत गर्ने भन्दै आपत्ति जनाइन्। प्रधानमन्त्रीको गैरजिम्मेवार कार्य र परराष्ट्रमन्त्रीको फितलो कूटनीतिक प्रदर्शनले देशको वैदेशिक साखमा धक्का लागेको भन्दै एमालेले संसदमा आफ्नो विरोध र निगरानी जारी राख्ने उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *