सुस्तामा एसएसबीको धम्की र दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारको जवाफ माग

डिसी नेपाल
१ असार २०८३ १२:३५

काठमाडौं। प्रधानमन्त्रीले सीमाका विषयमा दिएको हालैको विवादास्पद अभिव्यक्तिको विरोध र सीमा क्षेत्रमा भएका वैदेशिक हस्तक्षेपका घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कडा आपत्ति जनाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको बयान राष्ट्रहितविपरीत रहेको ठहर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायको चलखेल र दबाब बढेको भन्दै सरकारको तीखो ध्यानाकर्षण गराएका हुन्।

देशको अन्तर्राष्ट्रिय सीमा र सार्वभौमिकतासँग जोडिएका संवेदनशील विषयमा सरकार लाचार बनेको भन्दै संसद्मा सांसदहरूले कडा आक्रोश व्यक्त गरे।

बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको ऐतिहासिक सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अनधिकृत आवागमन र बढ्दो दादागिरीप्रति गम्भीर चिन्ता व्यक्त गरिन्।

प्रधानमन्त्रीले केही समयअघि संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने गैरजिम्मेवार बयानकै आडमा भारतीय सुरक्षाकर्मीहरू नेपाली सीमाभित्र पस्ने आँट गरिरहेको उनको आरोप थियो।

संसद्मा सरकारको कूटनीतिक लाचारीमाथि व्यङ्ग्य गर्दै सांसद काउचाले प्रधानमन्त्रीले नेपालले पनि सीमा मिचेको छ भनेर अभिव्यक्ति दिएपछि घरीघरी भारतीय एसएसबी सुस्तामा आइरहेको र सायद उनीहरू प्रधानमन्त्रीले भनेको त्यही मिचिएको सीमा खोज्न आएको हुन सक्ने टिप्पणी गरिन्।

उनले गत जेठ १७ र २९ गते भारतीय एसएसबीका अधिकारीहरू हुल बाँधेर सुस्ता पसेको र स्थानीय बासिन्दाले आफ्नो व्यक्तिगत साहसले उनीहरूलाई फिर्ता पठाए पनि उनीहरू ‘फेरि आउने’ ठाडो धम्की दिएर फर्किएकाले सीमा क्षेत्रमा त्रास कायमै रहेको बताइन्। उनले एसएसबीलाई सुस्तामा पस्नै नदिन र नागरिकलाई सुरक्षा दिन सरकारले के गरिरहेको छ भनी संसदमा प्रस्ट जवाफ माग गरिन्।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको सोही अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट तुरुन्त हटाउन माग गरे।

देशको कार्यकारी प्रमुखबाट सीमा जस्तो संवेदनशील विषयमा हलुका टिप्पणी आउनु आपत्तिजनक रहेको भन्दै उहाँले यसबारे सभामुखले विशेष रुलिङ गर्नुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने माग गरे।

सांसद दुलालले सोही क्रममा दार्चुलामा नेपाली भूमिरक्षा र सार्वभौमिकतामाथि धक्का लाग्ने गरी भारतीय सेनाको हेलिकोप्टर अनधिकृत रूपमा अवतरण गरेको भनिएको गम्भीर घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराए।

दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको र त्यसमा भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको सूचना बाहिर आएको भन्दै उहाँले यो नेपाली आकाश र भूमिको नियमविपरीत भएको बताए।

संसद्मा बोल्ने दुवै सांसदले राष्ट्रिय सुरक्षा र देशको अन्तर्राष्ट्रिय सीमासँग सम्बन्धित विषयहरू राष्ट्रको अस्तित्वसँग जोडिने भएकाले सरकारले संसद् र आम नागरिकले उठाएका प्रश्नहरूको अविलम्ब चित्तबुझ्दो र आधिकारिक जवाफ दिनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *