सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउन सांसद तामाङको सुझाव
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि अल्झिएर बसेको विषय भएको बताइन्। गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै भूभाग विवादित बन्न पुगेको उनले उल्लेख गरिन्।
सदनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा म सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर्षदेखि अल्झिएको विषय हो। गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै जमिन विवादित बनेको छ।’
पछिल्लो समय सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को गतिविधि बढेको र स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको भन्दै उनले घटनाको वास्तविकता के हो भनी सरकारसँग जवाफ माग गरेकी छन्। साथै, सरकारले यसबारे हालसम्म के-कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता उनले औँल्याइन्।
‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो? सरकारले यसबारे के-कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा स्पष्ट जानकारी आउन आवश्यक छ,’ उनले भनिन्।
तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको बताइन्। सीमा समस्या ती क्षेत्रहरूमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले अन्य सीमा क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू विद्यमान रहेको धारणा राखिन्।
उनले थपिन्, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएका संवेदनशील विषय हुन्। यस्ता समस्या केवल ती क्षेत्रहरूमा मात्र सीमित छैनन्; अन्य सीमा क्षेत्रहरूमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू विद्यमान छन्। कुनै पनि राष्ट्रको सार्वभौमिकताको मुख्य आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता गर्नु हो। यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामाथि नै प्रश्न उठाउँछ।’
कुनै पनि राष्ट्रको सार्वभौमिकताको मुख्य आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको बताउँदै उनले राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिइन्।
सांसद तामाङले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गर्न र आवश्यक कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरिन्। आवश्यक परे नेपाल र भारतबीचको आपसी सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउने विषयमा समेत विचार गर्नुपर्ने उनको भनाइ थियो।
‘सरकारले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलसहित अघि बढोस् भन्ने मेरो आग्रह छ। आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउने व्यवस्था पनि गरियोस्,’ उनले भनिन्।







डिसी नेपाल







Facebook Comment