बागमती प्रदेशको मितव्ययी बजेट : ६६ अर्ब ९३ करोडको आकार, प्रशासनिक खर्च कटौतीमा जोड

डिसी नेपाल
१ असार २०८३ १८:५०

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले चालु आर्थिक वर्षको तुलनामा ५४ करोड ४० लाख रुपैयाँ घटाएर बजेट प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्ष २०८२/०८३ मा ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयनमा रहेकोमा सरकारले आगामी वर्षका लागि बजेटको आकार केही खुम्च्याएको हो। बजेटको आकार घटाएसँगै सरकारले प्रशासनिक खर्चमा भारी कटौतीको नीति अघि सारेको छ।

मन्त्री तामाङले प्रशासनिक खर्चलाई ११ प्रतिशतले घटाउने लक्ष्य राखेको जानकारी दिँदै प्रदेशमा हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गरिएको र कर्मचारीको दरबन्दीमा पनि ७०० भन्दा बढी कटौती गर्ने योजना रहेको स्पष्ट पारेका छन्।

सरकारले चालु खर्च नियन्त्रण गर्दै विकास निर्माण र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकता दिएको छ। कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात ६५.६९ प्रतिशत र चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात ३४.३१ प्रतिशत रकम विनियोजन गरिएको छ। यस बजेटमार्फत सडक, सिँचाइ, खानेपानी, पर्यटन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रको विकासलाई सरकारले मुख्य आधार बनाएको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सरकारले आन्तरिक राजस्व र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणलाई प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षमा कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ र अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

त्यस्तै, सङ्घीय सरकारबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ तथा सञ्चित कोषको बचत र अन्य विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने मन्त्री तामाङले बताएका छन्। प्रशासनिक बोझ घटाएर विकासमुखी बजेटमार्फत आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने लक्ष्य सरकारको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *