तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मी आन्दोलित

डिसी नेपाल
२ असार २०८३ १८:३४

जनकपुर। मधेश प्रदेशमा रहेका १३६ स्थानीय तहमा करारमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित भएका छन्।

गत कार्तिक महिनादेखि हालसम्म तलब र अन्य सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलित भएका छन्। जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला अगाडि मंगलबार उनीहरुले धर्ना दिनुका साथै नाराबाजीसमेत गरेका छन्।

उनीहरुले कामको मूल्य चाहिन्छ, काम निरन्तर तलब किन बक्यौता ? तलब देउ ढिलासुस्ती बन्द गर, हाम्रो हकको भत्ता तत्काल उपलब्ध गर, चाडपर्व भत्ता देउ, जोखिम भत्ता देउ लगायतका प्ले कार्डसहित नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्।

प्रयोगशालामा व्यक्तिगत स्वार्थ र राजनीतिक फेरबदलका कारण कतिपय प्रयोगशालाकर्मीले गत कार्तिक महिना देखि तलब नपाएको धनकौल जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी अनिल कुमार महतोले जानकारी दिए। उनका अनुसार कतिपय प्रयोगशालाकर्मीहरुको गत माघ महिनादेखि करार नवीकरणसमेत भएको छैन्। उनले करार सम्झौता नविकरण नगरेर काम गराउने तर तलब नदिने गरेको गुनासो गरेका छन्।

सरकारले प्रयोगशाला सञ्चालनका निम्ति कर्मचारी समायोजन गर्न नसके जनतालाई आश्वासन र भूमरीमा पारेर नराख्न महातोले प्रदेश सरकारलाई सुझाव दिएका छन्। उनले कर्मचारीहरुको बाँकी रहेको तलब उपलब्ध गराउनु पर्ने, करार सम्झौता नवीकरण नभएकाहरुको नवीकरण गर्नुपर्ने, प्रयोगशालामा आवश्यक रिएजेन्ट, केमिकल लगायतका उपकरणहरुको सरकारले व्यवस्था गर्नुपर्ने, कर्मचारीहरुसँग सम्मानजनक व्यवहार गर्नुपर्ने र गुनासो सुन्ने वातावरण निर्माण हुनुपर्नेलगायतका मागहरु पूरा नभएसम्म आफूहरु विरोध जारी राख्ने र काममा नफर्किने महतोले चेतावनी दिएका छन्।

करारका कर्मचारीहरु आन्दोलित भएका कारण प्रदेशभरीका जनस्वास्थ्य प्रयोगशालाहरुको कामकाज समेत प्रभावित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *