गरुडामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
रौतहट। रौतहटको गरुडामा मंगलबार अपरान्ह टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आज (असार २ गते) अपरान्ह अन्दाजी ४ः४५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडाबाट चिनी मिलतर्फ जाने भित्री सडक खण्डमा दुर्घटना भएको हो। गरुडाबाट जाँदै गरेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकल र म.प्र.०३–००१ क २५१६ नम्बरको टिपर एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुर बस्ने २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल गरुडा पठाइए पनि चिकित्सकले बेलुकी ५ः०० बजे मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
यस्तै, दुर्घटनामा परि मोटरसाइकल चालक गरुडा नगरपालिका वडा नं. ८ जिगडंिया बस्ने २२ वर्षीय शेख आशिक मध्यम घाइते भएका छन्। उनको दायाँ कुम र हातमा चोट लागेको छ। मोटरसाइकलमै पछाडि सवार सोही स्थानका ३ वर्षीय बालक मो. कमरानको टाउकोमा सामान्य चोट लागेको छ। घाइते दुवैको बेटर नेपाल हस्पिटल गरुडामा उपचार भइरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय गरुडाबाट करिब २ किलोमिटर दक्षिण पर्दछ। घटना लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले दुर्घटनामा संलग्न टिपर, मोटरसाइकल र टिपर चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ बस्ने ४३ वर्षीय धर्मलाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment