पार्टी ‘बल्छीमा परेको माछा’ जस्तै भएको आरोप लगाउँदै झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालको राजीनामा माग गरेका छन्। पार्टी नेतृत्वले संस्था सञ्चालन गर्न नसकेको भन्दै खनालले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत दुवै नेतालाई मार्गप्रशस्त गर्न दबाब दिएका हुन्।
खनालले प्रचण्ड र नेपाललाई पठाएको पत्रमा पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘यस्तो अवस्थामा पार्टीलाई महाधिवेशनसम्म व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। तसर्थ, तपाईंहरूले संयोजन समितिको विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नुपर्छ।’
उनले नयाँ, योग्य र विचारवान नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनुपर्ने र उक्त कमिटीले केन्द्रीय कमिटीलाई ‘राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’ मा रूपान्तरण गर्नुपर्ने प्रस्ताव राखेका छन्।
विगतमा केपी शर्मा ओली र प्रचण्डको ‘दुई पाइलट’ मोडलका कारण पार्टी दुर्घटनामा परेको स्मरण गर्दै खनालले अहिले फेरि त्यही गल्ती दोहोरिएको आरोप लगाएका छन्। पत्रमा उनले थपेका छन्, ‘अहिले २६ वटा घटक एकताबद्ध गरेर अर्को नेकपा घोषणा गरियो, तर फेरि पनि संयोजक र सह-संयोजक नै राखियो। के यो त्यही “दुई पाइलट” को अर्को संस्करण हो?’
उनले पार्टी अहिले ‘बल्छीमा परेको माछा’ जस्तै भएको टिप्पणी गर्दै प्रश्न गरेका छन्, ‘एउटा संयोजक भएर पार्टी चलाउन किन नसक्ने? के अब महाधिवेशन गर्दा पनि यस्तै सेटिङ गर्नुहुन्छ? कार्यकर्ताले अब यस्तो सेटिङ स्वीकार गर्लान्?’
पार्टीको संरचनागत ढाँचाप्रति असन्तुष्टि जनाउँदै खनालले संयोजक र सह-संयोजकको हालको व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठाएका छन्। नेतृत्वलाई गम्भीर भएर सोच्न आग्रह गर्दै उनले अहिलेको नेतृत्वबाट पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment