सवारी दुर्घटना कम गर्न ट्राफिक जनचेतना सप्ताह
वीरगञ्ज (पर्सा)। बढ्दो सवारी दुर्घटना कम गर्ने उद्देश्यले पर्सामा आजदेखि ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ सुरु भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो। यही असार ९ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्नका लागि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।
आज गरिएको जनचेतनामूलक र्याली वीरगञ्जको घण्टाघरबाट सुरु भई लिङ्क रोड, बसपार्क, भानुचोक हुँदै पुनःघण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीका सहभागीहरूले ‘सिटबेल्टको अनिवार्य प्रयोग गरौँ’, ‘मदिरा सेवन गरी सवारी नचलाऔँ’, ‘ट्राफिक नियम पालना गरौँ’ र ‘सुरक्षित यात्रा, सुरक्षित जीवन’ लेखिएका प्ले कार्ड बोकेका थिए। एक सातासम्म विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा सवारी चालक लक्षित सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, पर्चा वितरण, सडक नाटक तथा ट्राफिक नियमसम्बन्धी विभिन्न अभियान सञ्चालन गरिनेछ।







डिसी नेपाल







Facebook Comment