झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
झापा। जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदनअनुसार आगलागी, हावाहुरी र जङ्गली जनावरको आक्रमणका कारण ठूलो परिमाणमा भौतिक तथा मानवीय क्षति भएको हो।
प्रहरीको तथ्याङ्कअनुसार जिल्लाभर प्राकृतिक विपद्मा सबैभन्दा बढी क्षति आगलागीका कारण भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार जेठमा जिल्लाका विभिन्न स्थानमा १५ वटा आगलागीका घटना घटेका थिए। सो आगलागीका कारण नागरिकको घरगोठ र धनमाल नष्ट हुँदा रु छ करोड ३९ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको हो।
त्यसैगरी सोही महिनामा आएको ठूला हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा गरी रु चार करोड सात लाख १६ हजार बराबरको क्षति भएको छ।
झापामा रैथाने तथा सीमावर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रास र प्राकृतिक प्रकोपको क्षति पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ। यस अवधिमा जङ्गली जनावरको आक्रमणका आठ वटा घटना भएका छन्। जसमा परेर एक जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएको तथ्याङ्क रहेको छ। वन्यजन्तुको आक्रमणबाट मात्रै रु तीन लाख ७० हजार बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ।
यस्तै, चट्याङ्बाट रु एक लाख ३६ हजार ५०० को भौतिक क्षति भएको तथ्याङ्क छ। सोही अवधिमा आएको बाढीपहिरोको घटनामा मानवीय क्षति नभए पनि प्रहरी टोलीले विपद्मा फसेका सात जनाको सकुशल उद्धार गरेको थियो।
प्रहरीले विपद्का घटनालगत्तै नागरिकको जीउधनको रक्षा, उद्धार र राहतका आवश्यक प्रहरी जनशक्ति परिचालन गरेको सूचना अधिकारी अवाले जानकारी दिए। रासस







डिसी नेपाल







Facebook Comment