अभिभावक र विद्यार्थीको आग्रहपछि चलचित्र ‘रोल नं १’को टिकटमा ५० प्रतिशत छुट
काठमाडौं। नेपाली चलचित्र ‘रोल नं १’ अब दर्शकहरूले आधा मूल्यमै हेर्न पाउने भएका छन्। निर्माण पक्षले दर्शकहरूको हितलाई ध्यानमा राख्दै आफ्नो सिनेमाको टिकटदरमा ५० प्रतिशत छुट दिने विशेष निर्णय गरेको हो।
यो नयाँ निर्णय लागू भएसँगै अब देशैभरका हलहरूमा ‘रोल नं १’को टिकट आधा मूल्यमा उपलब्ध हुनेछ। उदाहरणका लागि, पहिले चार सय रुपैयाँ पर्ने टिकट अब दर्शकले दुई सय रुपैयाँमा खरिद गर्न सक्नेछन् भने तीन सय रुपैयाँ टिकट मूल्य रहेका हलहरूमा एक सय ५० रुपैयाँमै यो सिनेमा हेर्न पाइनेछ।
विशेष गरी विद्यार्थी र अभिभावकहरूले चलचित्रको टिकट मूल्य घटाइदिन गरेको चौतर्फी आग्रहलाई सम्बोधन गर्दै हरेक हलका हरेक शोमा यो छुट व्यवस्था गरिएको निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
विद्यालय, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाई स्वीकार गर्दै सेभेन सिज सिनेमाले नेपालभरका सहभागी सिनेमाघरहरूमा तत्कालैदेखि लागू हुने गरी ५० प्रतिशत छुटको घोषणा गरेको हो।
चलचित्रले नेपालको शिक्षा प्रणाली, विद्यार्थीहरूले भोग्नुपर्ने मानसिक दबाब, अभिभावकहरूको निरन्तरको सङ्घर्ष र जीवनका जीवन्त यथार्थ कथाहरूलाई पर्दामा उतारेकाले यो सबैका लागि हेर्नैपर्ने चलचित्र बनेको निर्माता पौडेलको दाबी छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस सामाजिक विधाको चलचित्रलाई निर्देशक जोन योञ्जनले निर्देशन गरेका हुन्। चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी देखिएका छन् भने बाल-कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्। महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रशान्त शिवाकोटीको सङ्गीत र मदन घिमिरेको सम्पादन रहेको यो चलचित्रले हलहरूमा दर्शकको राम्रो साथ पाइरहेको छ।







डिसी नेपाल







Facebook Comment