असार ६ गते संयुक्त रूपमा ‘क्रिटिक्स फिल्म अवार्ड’ बाँडिँदै, हरिवंशदेखि आनासम्म पुरस्कृत हुने

डिसी नेपाल
४ असार २०८३ १३:०८

काठमाडाैं। चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्ड’को मिति तय भएको छ। समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी असार ६ गते शनिबारका दिन अवार्ड वितरण कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो।

यसपटक वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा दुवै वर्षको अवार्ड एकै दिन संयुक्त रूपमा वितरण गर्न लागिएको हो। अवार्डका विजेताहरूको नाम समाजले यसअघि नै सार्वजनिक गरिसकेको छ।

यस प्रतिष्ठित अवार्ड कार्यक्रमको मुख्य प्रायोजक महालक्ष्मी चक्की आटा रहेको छ भने सह–प्रायोजकका रूपमा अन्नपूर्ण स्पाइकर (किङ्ग्स फ्रेन्चाइज टिम अफ नेपाल भलिबल लिग) र ओएसआर डिजिटल रहेका छन्। यसैगरी अवार्ड आयोजनामा नेपाल फिल्म क्याम्पसले पनि सहकार्य गरेको छ।

घोषित नतिजा अनुसार ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ तर्फ चलचित्र ‘गाउँ आएको बाटो’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र किशोर आचार्यले उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड जित्न सफल भएका छन्। त्यस्तै चलचित्र ‘शाम्बाला’बाट मीनबहादुर भाम उत्कृष्ट निर्देशक र थिन्ले ल्हामो उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

‘सानो संसार’का लागि सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले उत्कृष्ट पटकथा/लेखनको अवार्ड हात पार्दा चलचित्र ‘आँखा’का लागि आलोक शुक्ला उत्कृष्ट छायाकार र ‘राजागञ्ज’का लागि जे. हिम ली र एलेक्स गुर्भिट्स उत्कृष्ट सम्पादक चुनिएका छन्।

यसैगरी अभिनय विधाको स्पेसल मेन्सन अवार्ड ‘बोक्सीको घर’की सुपला सापकोटाले र कला निर्देशनतर्फको स्पेसल मेन्सन अवार्ड ‘पूर्ण बहादुरको सारङ्गी’का रोशन दिवानाले प्राप्त गर्ने भएका छन्।

अर्कातर्फ, ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा चलचित्र ‘ऊनको स्वीटर’ले वर्चस्व जमाएको छ। यो चलचित्रले उत्कृष्ट फिल्मको उपाधि जित्नुका साथै यसै फिल्मबाट नवीन चौहान उत्कृष्ट निर्देशक, नवीन चौहान र सुरज कटुवाल उत्कृष्ट पटकथाकार तथा कोविद बज्र उत्कृष्ट पार्श्व संगीतकारका रूपमा पुरस्कृत हुने भएका छन्।

यस्तै चलचित्र ‘भूठान’बाट वरिष्ठ अभिनेता हरिवंश आचार्यले उत्कृष्ट अभिनेता, सुशन प्रजापतिले उत्कृष्ट छायांकन र अञ्जय खड्काले उत्कृष्ट सम्पादनको अवार्ड आफ्नो पोल्टामा पारेका छन्। चलचित्र ‘रमिताको पिरती’बाट आना शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएकी छन्। यी सम्पूर्ण विधाका उत्कृष्ट स्रष्टाहरूलाई आगामी शनिबार हुने विशेष समारोहमा पुरस्कृत गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *