त्रिभुवन विमानस्थलबाट २७ महिलाको उद्धार, भिजिट भिसामा कुवेत लैजान खोज्ने गिरोहको खोजी सुरु

डिसी नेपाल
४ असार २०८३ १६:५९

काठमाडौं। मानव बेचबिखनको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ जना महिलालाई प्रहरीले फिर्ता गराएको छ।

बुधबार वैदेशिक रोजगारीको नाममा ती महिलाहरूलाई विदेश लैजान लागिएको गोप्य सूचना प्राप्त भएपछि विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनीहरूलाई यात्रा गर्नबाट रोकेको हो।

विमानस्थलबाट नियन्त्रणमा लिइएका ती महिलाहरूलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार अहिले ती महिलाहरूमाथि सोधपुछ र अनुसन्धानको प्रक्रिया जारी छ।

‘हामीले नियन्त्रणमा लिएका महिलाहरू आफैँ पीडित हुन्। उनीहरूलाई कसले, के-कस्तो प्रलोभनमा पारेर वा झुक्याएर विदेश लैजान लागेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी खड्काले भने।

प्रारम्भिक अनुसन्धानबाट ती महिलाहरूलाई ओमान जान भनी झुक्याएर ‘भिजिट भिसा’ मा कुवेत लैजान लागिएको खुलासा भएको छ। मानव बेचबिखनको यो जालोमा संलग्न गिरोहको पहिचान गरी पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ।

पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरी महिलाहरूलाई जोखिमपूर्ण गन्तव्यमा पठाउने कार्य बढ्दै गएकाले विमानस्थल सुरक्षा र निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *