प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
५ असार २०८३ १५:३३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आज महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार यादवले सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस/रिसवत मागेका थिए। उजुरीका आधारमा आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट सडक ढलान योजना सञ्चालनका लागि भएको सम्झौताअनुसार कार्य सम्पन्न भई भुक्तानी गर्नुपर्ने अवस्थामा विभिन्न कारण देखाउँदै सेवाग्राहीलाई दुःख दिई घुस मागेको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै यादवविरुद्ध ७२ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *