बैतडी बस दुर्घटना : शिक्षकको मृत्यु, १० जना घाइते

डिसी नेपाल
५ असार २०८३ २०:१४

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा शुक्रबार साँझ भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५ः४० बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। मृतक चन्द पाटन नगरपालिका–४ स्थित भुमेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रहेको बताइएको छ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, ८ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० वर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ वर्षीय कर्णदेव भट्ट, दशरथचन्द नगरपालिका–४ की ३ वर्षीया दृष्टि कार्की तथा बसका सहचालक पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट घाइते भएका छन्।

घाइतेमध्ये सहचालक कविराज भट्टलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १२ जना सवार रहेका थिए। चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशवसिंह महरा सकुशल रहेको र उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *