मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत, रसुवाकोमा कैफियत

डिसी नेपाल
५ असार २०८३ २२:४५

काठमाडौं। मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाबाट भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ। भन्सार विभागद्वारा आज जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ। ती सवारीसाधन गत जेठ १४ गते नेपाल प्रवेश गरेका थिए।

अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए।

त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको सो कार्यालयमा गएको अनुगमन टोलीले औँल्याएको छ। सो टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेखलगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधन भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ।

अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको थियो।

भन्सार विभागले लक्ष्मी इमोविलिटी प्रालि काठमाडौँ, साइमेक्स इन्क लिमिटेड काठमाडौँ, सिजी मोटर्स प्रालि ललितपुर, पूजा इन्टरनेसनल प्रालि काठमाडौँ र एजेन्ट नम्बर ८३३ तथा एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानुनबमोजिम कारबाहीका लागि रसवा भन्सार कार्यालयमा लेखी पठाएको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *