बुढानीलकण्ठमा ३० सफाइकर्मीलाई सम्मान
काठमाडौं। समाज र वातावरणलाई स्वच्छ राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका सफाइकर्मीहरूको सम्मानमा बुढानीलकण्ठमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठले ‘सफाइकर्मीलाई सम्मान, सबैको मान’ भन्ने नारासहित आयोजना गरेको कार्यक्रममा बुढानीलकण्ठ क्षेत्रमा कार्यरत करिब ३० जना सफाइकर्मीलाई सम्मान गरिएको हो।
बुढानीलकण्ठ–३ स्थित नेचुरल भ्यू रिसोर्टमा आयोजित कार्यक्रममा इसीआइ नेपाल अन्तर्गत कार्यरत अग्रपंक्तिका सफाइकर्मीहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले समाजलाई स्वच्छ, सुरक्षित र व्यवस्थित राख्न सफाइकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई सम्मान र गरिमापूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले दैनिक रूपमा फोहोर व्यवस्थापन गर्दै सार्वजनिक स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेका भए पनि अपेक्षित सामाजिक सम्मान प्राप्त गर्न नसकेको धारणा व्यक्त गरेका थिए।
रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठका अध्यक्षले सफाइकर्मीहरू समाजका अदृश्य नायक भएको उल्लेख गर्दै उनीहरूको योगदानलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास आजको आवश्यकता भएको पनि बताए।
कार्यक्रममा सहभागी सफाइकर्मीहरूले सम्मानले आफ्नो कामप्रति थप उत्साह र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आफ्नो योगदानको कदर भएको महसुस गरेको बताउँदै आयोजकप्रति आभार व्यक्त गरेका थिए।
रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठले यो कार्यक्रमलाई श्रमको सम्मान, सामाजिक उत्तरदायित्व र मानवीय गरिमाको प्रवद्र्धन गर्ने अभियानको सुरुआतका रूपमा लिएको जनाएको छ।
क्लबले आगामी दिनमा पनि श्रमजीवी वर्गको सम्मान, सुरक्षा र जीवनस्तर सुधारका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।







डिसी नेपाल







Facebook Comment