प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

डिसी नेपाल
७ असार २०८३ २०:४२

विराटनगर । विराटनगरमा प्रहरीका दुई जना सुरक्षाकर्मी र एक जना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरी घाइते बनाउने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप घर भई विराटनगर महानगरपालिका–१, अनुकरण मार्गमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिन कार्की रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार कार्कीलाई आइतबार दिउँसो काठमाडौंस्थित ‘नेपाल नामक सुधार गृह’ पठाउने तयारी भइरहेको थियो। सोही क्रममा उनले आफू बसेको कोठाभित्र आफैँलाई थुनेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोली र सुधार गृहका कर्मचारीले उनलाई सम्झाइबुझाइ गरी बाहिर निकाल्ने प्रयास गरेका थिए। तर, कार्कीले कोठाभित्र लुकाएर राखेको चक्कु निकालेर प्रहरी र कर्मचारीमाथि आक्रमण गरेका थिए।

आक्रमणबाट प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। तीनै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको डीएसपी मिश्रले बताए।

घटनापछि कार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *