“म ट्रम्पको इसारामा चल्दिनँ, अमेरिका र इजरायलका आफ्नै रणनीति छन्”
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इसारामा चल्ने गरेको भन्ने भ्रमलाई पूर्ण रूपमा खारेज गरेका छन् । यरुशलेममा आयोजित ‘जेएनएस इन्टरनेसनल पोलिसी समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले अमेरिका र इजरायलबीचको सम्बन्ध र निर्णय प्रक्रियाबारे स्पष्टीकरण दिएका हुन् ।
उनले भने, “अमेरिकामा मानिसहरू भन्छन् कि राष्ट्रपति ट्रम्पले मैले जे भन्यो त्यही गर्छन्, तर यता इजरायलमा भने केही मानिसहरू म ट्रम्पले जे चाहन्छन् त्यही गर्छु भन्ने सोच्छन्। वास्तविकता के हो भने यी दुवै कुरा गलत हुन्।” दुई देश निकटका सहयोगी भए तापनि आ-आफ्नो राष्ट्रिय हित र कतिपय मुद्दामा फरक दृष्टिकोण रहेको उनको भनाइ थियो।
यसै क्रममा नेतन्याहूले इजरायलको सुरक्षा रणनीतिमा कुनै सम्झौता नगर्ने अडान पुनः दोहोर्याएका छन् । इजरायली सैन्य कारबाहीले इरानी शासनको पतनको आधार तयार पारेको दाबी गर्दै उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न नदिने संकल्प व्यक्त गरे। साथै, हिजबुल्लाहको खतरा पूर्ण रूपमा अन्त्य नभएसम्म इजरायली सेना दक्षिणी लेबनानमा तैनाथ रहने उनले प्रस्ट पारेका छन् ।
अर्कोतर्फ, स्वीट्जरल्याण्डको बर्गनस्टकमा अमेरिका र इरानबीचको उच्चस्तरीय शान्ति वार्ताको दोस्रो दिन महत्त्वपूर्ण प्रगति भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीहरू सम्मिलित यस वार्तामा कतार र पाकिस्तानले मध्यस्थता गरिरहेका छन्।
राष्ट्रपति ट्रम्पको कडा बयानबाजीका कारण सुरुवाती चरणमा केही तनाव देखिए तापनि दुवै पक्ष ६० दिनभित्र स्थायी सम्झौताको खाका (रोडम्याप) तयार गर्न र लेबनानमा जारी युद्ध रोक्नका लागि ‘डी-कन्फ्लिक्सन सेल’ स्थापना गर्न सहमत भएका छन्। यो कूटनीतिक पहल चलिरहँदा पनि इजरायलले भने आफ्नो सैन्य र सुरक्षा प्राथमिकतामा अमेरिकाभन्दा स्वतन्त्र रहेर निर्णय लिने स्पष्ट संकेत दिएको छ।







डिसी नेपाल







Facebook Comment