बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

डिसी नेपाल
८ असार २०८३ २०:२१

निजगढ (बारा)। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो। मृतकमध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीतपुरसिमरा-१ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्ने २० वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन्। पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए।

दुर्घटनामा गम्भीर भएका तीनै जनालाई अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। उनका अनुसार मृतकमध्ये जोशी र अधिकारीको शव बयोधा अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *