ठमेलमा सर्वसाधारणलाई हैरानी दिने सात विदेशी नागरिक पक्राउ

डिसी नेपाल
८ असार २०८३ २२:१८

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण र पर्यटकलाई हैरानी दिने ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।

ठमेलको फायरचोक क्षेत्रमा हिँडडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा बाटो छेक्दै अश्लील क्रियाकलापका लागि मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा युगान्डाका ५ र भियतनामका २ जना नागरिक छन्। उनीहरूले गत असार ५ गते बाटो हिँड्ने सर्वसाधारणलाई दुःख दिइरहेका थिए।

सो स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सम्झाइबुझाइ गर्दा प्रहरीमाथि नै अभद्र व्यवहार भएको प्रहरीले जनाएको छ। उनीहरूले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई गालीगलौज गर्दै धक्कामुक्का गरेपछि प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *