चलचित्र ‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्ध, ३३ औँ दिनको छायांकनका बीच टिममा उत्साह
काठमाडौं। छायांकनको मध्यतिर आइपुग्दा नेपाली चलचित्र ‘महाराजधिराज’को कलाकार टोलीमा नयाँ र महत्त्वपूर्ण थपघट भएको छ। काठमाडौँमा तीव्र गतिमा छायांकन भइरहेको यस चलचित्रमा पुराना तथा स्थापित नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्।
सोमबार चलचित्रको ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण पक्षले आधिकारिक रूपमा उनलाई टोलीमा सामेल गराइएको जानकारी सार्वजनिक गरेको हो।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टका अनुसार टिमले एउटा अब्बल र सशक्त कलाकारको खोजी गरिरहेको अवस्थामा पूजनालाई अनुबन्ध गराइएको हो, जसले गर्दा चलचित्रको टिम थप मजबुत र सशक्त बनेको छ।
नेपाली सिनेमा क्षेत्रकै ठुलो ‘मल्टिस्टारर’ भनिएको यस चलचित्रको अहिले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूमा छायांकन भइरहेको छ।
सुनसरीको विकट श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन यात्रा अहिले राजधानी आइपुगेको हो। निर्माण पक्षले यो चलचित्रको कुल छायांकन तालिका (सेड्युल) ७० दिनको तय गरेको छ, जसको आधा जति काम सम्पन्न भइसकेको छ।
सामाजिक विषयवस्तुमा आधारित ऐतिहासिक कालखण्डको कथा समेटिएको यस ‘सोसल पिरियड ड्रामा’ चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरिरहनुभएको छ भने यसको लेखन पनि स्वयं निर्देशक सेनकै रहेको छ।
चलचित्रको दृश्यहरूलाई नबराज थापाले क्यामेरामा कैद गरिरहेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको लगानीमा रवि खड्का र टोपेन्द्र विष्टले सहकार्य गरेका छन्।
यो चलचित्रमा नेपाली रजतपतका दिग्गज र स्थापित कलाकारहरूको विशाल जमघट देख्न सकिन्छ। चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी. र सुशील सिटौला जस्ता मुख्य कलाकारहरूको अभिनय रहनेछ।
यसका साथै नीर शाह, हिउवाला गौतम, प्रिया रिजाल, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी र कमल देवकोटालगायतका कलाकारहरूले पनि पर्दा सेयर गर्दै छन्।
ठूलो क्यानभासमा निर्माण भइरहेको यस चलचित्रमा साना-ठूला गरी कुल ८० जना कलाकारहरूको अभिनय रहने निर्माण पक्षले जनाएको छ। जसमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायतका कलाकारहरूले चलचित्रको कथालाई अगाडि बढाउन विभिन्न भूमिकामा अभिनय गरिरहेका छन्।







डिसी नेपाल







Facebook Comment