डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु, पत्नी घाइते

डिसी नेपाल
९ असार २०८३ १७:५९

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।

हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६, नरह चोकमा मंगलबार दिउँसो १२ बजेतिर विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका ५० वर्षीय लालकुमार यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिए पनि उपचारकै क्रममा अपरान्ह ४ः१६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार ४७ वर्षीया उनकी पत्नी रामपरीको दाहिने खुट्टामा चोट लागेको छ र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतक यादव प्रहरी नायब निरीक्षकबाट वरिष्ठ सईमा बढुवा भई बाराबाट सरुवा भई सिराहा जाने तयारीमा थिए।

दुर्घटना गराउने कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरी हुन्। उनी नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन्। प्रारम्भिक अनुसन्धानअनुसार डा. चौधरी आफैँले कार चलाएर बर्जुको चिमडी बजारतर्फ सेवा दिन जाँदै थिए।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला कार तीव्र गतिमा थियो। कारको ठक्करबाट मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयको सक्रियतामा तत्काल नियन्त्रणमा लिइएको थियो।

कार चालक डा. चौधरी भने सकुशल छन्। घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले सवारीको गति र प्राविधिक पक्षबारे विस्तृत जाँच भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *