नपुंसकले गरे बलात्कारको प्रयास, असफल भएपछि हत्या
नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा ११ वर्षीया बालिकाको बलात्कार र हत्याको घटनालाई लिएर एउटा नयाँ दाबी सार्वजनिक भएको छ। प्रहरी स्रोतका अनुसार आरोपी क्याब चालक बाशु कुमार सिंह ‘इरेक्टाइल डिस्फंक्शन’ अर्थात् शारीरिक सम्बन्ध राख्न असमर्थ हुने समस्याबाट पीडित थिए र उनको नपुंसकता सम्बन्धी स्वास्थ्य रिपोर्ट पनि पोजिटिभ आएको छ।
आरोपीले प्रहरी सोधपुछका क्रममा कारको पछाडिको सिटमा बालिकासँग बलात्कार गर्ने प्रयास गरेको तर आफ्नो शारीरिक समस्याका कारण त्यसो गर्न नसकेको स्वीकार गरेका छन्। त्यसपछि बालिकाले हल्ला गरेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिँदै उनलाई फरिदाबाद-गुरुग्राम सीमा नजिकैको एउटा एकान्त जङ्गलमा लगेर हत्या गरेको र शवलाई ढुङ्गाको थुप्रोमुनि लुकाएको आरोपीले बताए।
प्रहरीका अनुसार पीडित परिवार मूल रूपमा बिहारको हो। पहिले उनीहरू कोठा भाडामा बस्ने गरे तापनि गरिबीका कारण भाडा तिर्न नसकेपछि घर खाली गर्नुपरेको थियो र त्यसयता परिवार फुटपाथमै सुत्ने गर्दथ्यो। घटनाको रात बालिका आफ्नी आमा, माइजु, भाइ र बुबाको बीचमा फुटपाथमा सुतिरहेकी थिइन्।
आरोपी बाशु कुमार सिंहले आफ्नो कार उनीहरूको ठीक छेउमा ल्याएर रोकेका थिए, जसको पछाडिको ढोका खुला थियो। उनले सुतिरहेकी बालिकालाई काखमा उठाएर गाडीको पछाडिको सिटमा राखे। गाडी गुड्न थालेपछि बालिकाले अलिअलि होस पाएर आफ्ना बुबालाई बोलाउँदै चिच्याइन्, जसका कारण बुबाको आँखा खुल्यो।
बालिकाका बुबाले गाडी रोक्ने प्रयासमा पछि-पछि दौडँदै लौरोले हाने पनि आरोपीले गाडी द्रुत गतिमा भगाएर लगेका थिए। बालिकाका बुबालाई गाडीको नम्बर प्लेट पहेंलो रङको (कमर्सियल गाडी) भएको मात्र सम्झना थियो।
आरोपीले बालिकालाई फतेहपुर बेरी नजिकै मन्डी रोडतर्फ करिब १० देखि १२ किलोमिटर जति घुमाइरहेका थिए। शव व्यवस्थापन गरिसकेपछि आरोपी गुरुग्रामस्थित आफ्नो भाडाको कोठामा फर्किएर लुगा फेरे र केही घण्टामै पुनः क्याब चालकको रूपमा काममा फर्किएका थिए।
पछि प्रहरीले वरपरका पसलहरूको सीसीटीभी फुटेजहरू हेरेर, गाडीको गुड्ने मार्ग पत्ता लगाई आरोपीलाई पक्राउ गरेको हो। गत २४ जुनमा आरोपीलाई नियन्त्रणमा लिएपछि प्रहरी टोलीले घटनाको प्रमाण संकलन र दृश्य पुनर्निर्माण (क्राइम सिन रिक्रिएट) का लागि घटनास्थलमा लैजाँदै गर्दा आरोपीले भाग्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार उनलाई रोक्नका लागि बायाँ खुट्टामा गोली हानिएको थियो र हाल उनी अस्पतालमा भर्ना भएका छन्।
बिहारको खगरिया जिल्ला स्थायी घर भएका २६ वर्षीय आरोपी विगत पाँच वर्षदेखि दिल्लीमा बस्दै आएका थिए। सन् २०२३ मा क्याब चालक बन्नुअघि उनले सेक्युरिटी गार्डको रूपमा काम गर्ने गर्दथे।
प्रहरीका अनुसार उनको विरुद्धमा बिहारमा पहिले नै हत्या प्रयासका दुईवटा मामिलासहित पाँचवटा आपराधिक मुद्दा दर्ता भइसकेका छन्। यसैबीच, दिल्ली प्रहरीले आरोपी आबद्ध रहेका तीनवटा ठूला क्याब एग्रीगेटर कम्पनीहरूलाई उनीहरूको चालक दर्ता र प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रियाको विवरण माग्दै नोटिस पठाउने तयारी गरिरहेको छ।






डिसी नेपाल





Facebook Comment