रास्वपा महाधिवेशनमा तीव्र असन्तुष्टि: मतदान प्रक्रिया र व्यवस्थापनमा गम्भीर प्रश्न
चितवन। नयाँ राजनीतिक संस्कारको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आन्तरिक खिचातानी, व्यवस्थापकीय कमजोरी र मतदान प्रक्रियाको विवादका कारण नराम्रोसँग थला परेको छ।
तीन दिनभित्रै भव्य रूपमा सम्पन्न गर्ने योजनाका साथ चितवनको भरतपुरमा सुरु भएको महाधिवेशन पाँचौँ दिनसम्म तन्किँदा पनि नेतृत्व चयनको विषय निष्कर्षमा पुग्न सकेको छैन।
निर्वाचन प्रक्रिया सुरु हुनु अगाडिसम्म प्रतिनिधिहरूको अन्तिम नामावली समेत टुंगाे लगाउन नसकेको पार्टी नेतृत्वले मतदानका क्रममा अपनाएको प्राविधिक अपरिपक्वताले महाधिवेशनलाई थप भद्रगोल र कष्टकर बनाएको छ।
कुल ४ हजार ३ सय ११ जना महाधिवेशन प्रतिनिधिहरू चितवन ओर्लिएको दाबी गरिए तापनि पहिलो चरणको केन्द्रीय समितिको निर्वाचनमा केवल २ हजार ९ सय ५९ जनाले मात्रै मतदान गरेका छन्।
९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि ३ सय ८४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिँदा पार्टीले प्रयोग गरेको विद्युतीय भोटिङ मेसिनमा चरम बदमासी र सेटिङ गरिएको गम्भीर आरोप लागेको छ।
वर्णानुक्रम र पार्टीको आन्तरिक वरीयता दुवैलाई लत्याएर पहिलो नम्बरमा डा. स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूको नाम प्रविष्टि (अपलोड) गरिएपछि भुइँतहका उम्मेदवारहरू आक्रोशित बनेका छन्।
मतदाताले सुरुमै ९९ जनाको कोटा पूरा गर्दा पछिल्लो क्रममा नाम राखिएका उम्मेदवारहरू स्वतः छुट्ने जोखिम बढेपछि यज्ञमणि न्यौपाने, दीपक बोहोरा, आशिका तामाङ र ज्वाला सङ्ग्रौला लगायतले महाधिवेशनस्थलमै चर्को विरोध जनाएका छन्।
मनोनयन दर्ता गर्दा सुरुवाती क्रममा रहेका नामहरूलाई मेसिनमा नियतवश पछाडि धकेलिएको भन्दै उनीहरूले पार्टीको निर्वाचन संयन्त्रमाथि षड्यन्त्रको आरोप लगाएका छन्। राजनीतिमा आफ्नो छोटो अनुभव रहेको उल्लेख गर्दै उम्मेदवार तामाङले फागुन २१ गतेको सत्ता समीकरण जस्तै निष्पक्ष चुनाव हुने ठाने पनि जहाँ पनि भुइँमान्छेले नै दुःख पाउने रहेछ भन्दै सामाजिक सञ्जालमार्फत पीडा पोखेकी छन्।
गुट र उपगुटलाई पूर्ण रूपमा निषेध गर्ने भनी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सार्वजनिक प्रतिबद्धता जनाए पनि महाधिवेशनभित्र समानान्तर प्यानलको ‘चिट’ बाँड्ने कामले व्यापकता पाएको छ।
विगतमा एमालेको सौराहा महाधिवेशनमा अपनाइएको विकृतिलाई झल्काउने गरी मध्यराति बालेन पक्षले आफ्ना उम्मेदवारहरूको सूची बाँडेको र अर्को समूहले भोटिङ मेसिनको क्रम सङ्ख्यामै थिचोमिचो गरेको दाबी बाहिरिएको छ। सभापतिमा लामिछाने पहिले नै निर्विरोध चुनिएका थिए भने वरिष्ठ नेता शाहसहित उनी निकट कतिपय प्रभावशाली नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै दिएनन्।
आफूलाई प्रविधिमैत्री र शिक्षित युवाहरूको वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले महाधिवेशनस्थलमा छरेका पर्चा–पम्पलेट र कमजोर बन्दसत्रको व्यवस्थापनले पुराना परम्परागत दलहरू कांग्रेस, एमाले र माओवादीको भन्दा पनि निकम्मा प्रमाणित गरिदिएको भन्दै वर्षे खेती छाडेर आएका कार्यकर्ताहरू अकर्मण्य नेतृत्वविरुद्ध आन्दोलित भएका छन्।
यसै गरी, निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रवास कमिटीको अनलाइन भोटिङलाई लिएर पार्टीभित्र अर्को लफडा थपिएको छ। पार्टीको विधान अनुसार विदेशमा रहेका १६३ जना प्रतिनिधिहरूले मोबाइल एपमार्फत मत खसालेका थिए, जसलाई लिएर देशका सातै जना प्रदेश सभापतिहरूले कडा असहमति र असन्तुष्टि जनाएका छन्।
प्रवासको यो डिजिटल मतदान प्रणालीमा प्राविधिक पारदर्शीता नभएको भन्दै प्रदेश नेतृत्वले विरोध गरेपछि केन्द्रीय निर्वाचन आयोगले मतदान सकिएर पनि मतगणना कार्य पूर्ण रूपमा रोक्न बाध्य भएको छ।
प्रतिनिधि विवाददेखि उम्मेदवारको नामावली प्रकाशनसम्म देखिएको गाईजात्रा र अहिले प्रवासको भोटिङले निम्त्याएको नयाँ साङ्लोले गर्दा रास्वपाको पहिलो महाधिवेशन वैचारिक मार्गदर्शन दिनुभन्दा पनि आन्तरिक कलहको अखडामा परिणत भएको छ।






डिसी नेपाल





Facebook Comment