युरोपमा भीषण गर्मीको प्रकोप: फ्रान्समा मदिरा सेवनमा प्रतिबन्ध, जनजीवन अस्तव्यस्त
पेरिस। युरोपका विभिन्न भागमा देखिएको भीषण गर्मीको लहरले जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ। तापक्रमले रेकर्ड तोड्न थालेपछि फ्रान्स, इटाली, स्पेन, बेलायत र जर्मनी लगायतका देशहरूले आपत्कालीन चेतावनी जारी गरेका छन्।
फ्रान्समा गर्मीको लहरले ५८ जनाको ज्यान लिएको छ। रोयटर्सको रिपोर्ट अनुसार मानिसहरू गर्मीबाट बच्न नदी, ताल र नहरहरूमा जाँदैछन्। यसले गर्दा पछिल्ला केही दिनमा ४० जनाको डुबेर मृत्यु भएको छ, जसमध्ये धेरैजसो युवाहरू छन्।
यसका साथै, दुई बालबालिकासहित १८ जनाको गर्मीका कारण मृत्यु भएको छ। फ्रान्सको गल्फेस आणविक ऊर्जा केन्द्र सोमबार राति गर्मीको लहरका कारण बन्द गर्न बाध्य भएको छ। प्लान्टलाई चिसो पार्न प्रयोग गरिने गारोन नदीको तापक्रम २८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
फ्रान्स मात्र होइन, २६ युरोपेली देशहरू पनि गर्मीको लहरमा परेका छन्। स्पेन, इटाली र बेलायत लगायत १४ देशहरूमा रेड अलर्ट जारी गरिएको छ। यी मध्ये धेरैजसो देशहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने संघारमा छ।
फ्रान्स सरकारले ‘रेड अलर्ट’ जारी गरिएका क्षेत्रहरूमा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। स्वास्थ्य सेवामाथिको चाप कम गर्न र आपत्कालीन चिकित्सा टोलीहरूलाई सबैभन्दा बढी प्रभावित व्यक्तिको हेरचाहमा केन्द्रित गराउन फ्रान्सेली प्रशासनले यो कदम उठाएको हो।
फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले उच्चस्तरीय संकटकालीन बैठक बोलाउँदै सम्भावित स्वास्थ्य जोखिम र सार्वजनिक अशान्ति रोक्न सार्वजनिक कार्यक्रमहरूमा मदिरा निषेध गर्ने निर्णय सुनाएका छन्। फ्रान्सका झण्डै आधाभन्दा बढी विभागहरूलाई ‘रेड अलर्ट’ मा राखिएको छ, जहाँ तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
बढ्दो गर्मीका कारण सयौँ विद्यालयहरू बन्द गरिएका छन् भने कयौँ रेल सेवाहरू समेत प्रभावित भएका छन्। रेलका लिकहरूमा पर्न सक्ने क्षतिको जोखिम र विद्युत प्रणालीमा परेको चापका कारण राष्ट्रिय रेल सेवाले आफ्नो तालिका कटौती गरेको छ।
स्पेनको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ। स्पेनले वर्षको पहिलो आधिकारिक ‘हीटवेभ’ घोषणा गर्दै बास्क कन्ट्री लगायतका क्षेत्रमा खेलकुद र सांस्कृतिक गतिविधिहरू स्थगित गरेको छ। म्याड्रिडमा विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन समेत अत्यधिक गर्मीका कारण रद्द गरिएको छ।
इटालीको रोम, मिलान, टुरिन र फ्लोरेन्स सहितका आठ सहरहरूमा ‘रेड फ्ल्याग’ वा रातो चेतावनी जारी गरिएको छ। पर्यटकहरूले गर्मीबाट राहत पाउन सहरका प्रख्यात फोहराहरूमा नुहाउने र शरीर भिजाउने गरिरहेका छन्। कतिपय क्षेत्रमा दिउँसोको समयमा बाहिर काम गर्नसमेत प्रतिबन्ध लगाइएको छ।
बेलायतको मौसम कार्यालयले दक्षिणी इङ्गल्याण्ड र वेल्सका अधिकांश भागमा ‘एक्सट्रिम हीट’ चेतावनी जारी गरेको छ। तापक्रम ९५ डिग्री फरेनहाइट (३५ डिग्री सेल्सियसभन्दा बढी) पुग्न सक्ने अनुमान गरिएको छ। रातिको समयमा समेत तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने ‘ट्रपिकल नाइट्स’ को अवस्था सिर्जना भएको छ।
जर्मनीमा बढ्दो गर्मीसँगै आर्द्रताका कारण भीषण आँधीबेहरीको समेत चेतावनी दिइएको छ। बर्लिन ओपन टेनिस प्रतियोगिताको फाइनल खेल समेत खराब मौसमका कारण स्थगित गर्नुपरेको थियो।
विश्व स्वास्थ्य संगठनको युरोप कार्यालयका अनुसार विगत चार वर्षको अवधिमा युरोपमा गर्मीका कारण २ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो मृत्यु रोकथाम गर्न सकिने प्रकृतिका थिए। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता भीषण गर्मीका घटनाहरू थप तीव्र, लामो र बारम्बार दोहोरिने चेतावनी दिएका छन्।
फ्रान्सेली अधिकारीहरूले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई घरभित्रै रहन र प्रशस्त पानी पिउन आग्रह गरेका छन्। गर्मीकै कारण फ्रान्समा हालसम्म केही मानिसको ज्यान गएको पुष्टि भएको छ भने स्पेनले मे महिनामै गर्मीका कारण १ सय १ जनाको मृत्यु भएको रेकर्ड सार्वजनिक गरेको छ।
अत्यधिक गर्मीका कारण युरोपका धेरै भागहरूमा डढेलोको जोखिम बढेको छ, जसका लागि फ्रान्सले आफ्नो सैन्य र आपत्कालीन बललाई ‘वाइल्डफायर अलर्ट’ मा राखेको छ। सरकारले नागरिकहरूलाई दिउँसो ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष घाममा ननिस्कन, सुतीका कपडा लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन निरन्तर सूचित गरिरहेको छ।






डिसी नेपाल





Facebook Comment