भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो, अन्तर्राष्ट्रिय समुदायद्वारा राहत र उद्धार तीव्र

डिसी नेपाल
१२ असार २०८३ ११:३२

कराकस। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हालै गएको दुईवटा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन्।

भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अस्पताल ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको छ भने गम्भीर अवस्थाका धेरै घाइतेहरूको आकस्मिक शल्यक्रिया भइरहेको छ।

भूकम्पका कारण राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा र भार्गास लगायतका क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ। हजारौँ भवनहरू भत्किनुका साथै सडक, पुल जस्ता पूर्वाधार ध्वस्त भएका छन्।

संकटको यस घडीमा प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ, जहाँ सयौँ स्थानीय स्वयंसेवकहरूका साथै विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि राहत संकलन र वितरण अभियान सञ्चालन गरिरहेको छ।

विपद्को यस समयमा अन्तर्राष्ट्रिय समुदायले भेनेजुएलालाई ठूलो मानवीय र प्राविधिक सहयोग उपलब्ध गराइरहेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रसंघले भेनेजुएला सरकारसँग समन्वय गरेर आपत्कालीन सहायता पुर्‍याइरहेको बताएका छन्।

यसैगरी, अमेरिकाले आफ्नो दक्षिणी कमाण्डमार्फत सी-१७ ग्लोबमास्टर र सी–१३० हरक्युलिस सैन्य मालवाहक विमान परिचालन गरी राहत सामग्री, उद्धार उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा पठाएको छ।

युरोपबाट पनि सहयोगको हात बढाउँदै फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोँको निर्देशनमा चिकित्सक, खोजी कुकुर र विशेषज्ञसहितको विशेष टोली पठाएको छ भने स्विट्जरल्यान्डले पनि ८० जना विशेषज्ञ र १८ टन उद्धार सामग्रीसहितको ‘स्विस रेस्क्यु चेन’ टोली काराकासतर्फ परिचालन गरेको छ।

प्रभावित क्षेत्रमा अझै हजारौँ मानिस बेपत्ता रहेको आशङ्का गरिएकाले उद्धारकर्मीहरूले निरन्तर भग्नावशेष हटाउने कार्य जारी राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *