कांग्रेस नेता अभिषेक गिरी पक्राउ

डिसी नेपाल
१३ असार २०८३ १८:२७

विराटनगर । मोरङ प्रहरीले नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पक्राउ गरेको छ। विराटनगर-८ मधुमारास्थित आफ्नै निवासबाट शनिबार बिहान उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

सुरुमा गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनको निवासमा घेरा हाली खानतलासी गरेको थियो। यद्यपि, सो क्रममा कुनै पनि अवैध हतियार वा शङ्कास्पद वस्तु भने फेला नपरेको प्रहरीले जनाएको छ।

हतियार फेला नपरे पनि गिरीमाथि मोरङ कारागारका कैदीबन्दीहरूसँग रकम असुली गरेको गम्भीर अभियोग लागेको छ। मोरङ प्रहरीका अनुसार, गिरीले कारागारभित्रका कैदीबन्दीहरूलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक भत्ता, पोसाक भत्ता (लुगा भत्ता) तथा कैदीबन्दीहरूले श्रम गरेर आर्जन गरेको रकम हिनामिना र जबर्जस्ती असुली (फिरौती) गरेको पाइएको छ।

केही वर्षअघि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरी छुटेका गिरी कारागारभित्र रहँदा ‘आन्तरिक नाइके’ थिए। कारागारबाट मुक्त भएपछि पनि उनले वर्तमान चौकीदार राकेश यादवसँग मिलेर कारागारभित्रका कैदीबन्दीहरूबाट अवैध रूपमा रकम असुली गरिरहेको प्रहरीको दाबी छ।

अपराधिक पृष्ठभूमि भएका गिरी पछिल्लो समय आफूलाई समाजसेवीका रूपमा प्रस्तुत गर्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। प्रहरीले पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *