अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी: युद्धका लागि बाध्य पारिए इरानको अस्तित्व समाप्त हुनेछ

डिसी नेपाल
१४ असार २०८३ १२:३९

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानी आक्रामकताले उसैलाई गम्भीर नोक्सान पुर्‍याउने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकालाई पुनः युद्धको बाटो रोज्न बाध्य पारियो भने ‘इस्लामिक रिपब्लिक अफ इरान’ अब अस्तित्वमा नरहने स्पष्ट पारेका हुन्।

स्ट्रेट अफ हर्मुजमा इन्धन ढुवानीका लागि गएको पानामाको व्यापारिक जहाजमाथि इरानद्वारा आक्रमण भएपछि अमेरिकी सेनाले जवाफी कारबाही गरेको थियो।

अमेरिकी सेनाले शनिबार नै इरानका ‘केही भाग’ का तटीय क्षेत्रहरूमा सैन्य कारबाही गरेको विवरण सार्वजनिक भएलगत्तै राष्ट्रपतिको यो कडा चेतावनी आएको हो।

जवाफी सैन्य कदमबारे प्रष्ट पार्दै राष्ट्रपति ट्रम्पले लेखेका छन्, “इरानले फेरि पनि शान्ति सम्झौताको गम्भीर उल्लंघन गरेको छ। त्यसको बदलामा संयुक्त राज्य अमेरिकाका विमानहरूले इरानी मिसाइल, ड्रोन तथा तटीय राडार भण्डारण स्थलहरूमाथि सफलतापूर्वक आक्रमण गरेका छन्।”

इरानसँगको बढ्दो तनाव र कूटनीतिक प्रयासहरूबारे उल्लेख गर्दै उनले अमेरिकाले संयमता अपनाउन खोजेको संकेत समेत गरेका छन्।

“हामीले जति नै तर्कसंगत र लचिलो हुन खोजे पनि एउटा यस्तो बिन्दु आउन सक्छ, त्यतिबेला हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरिसकेको कामलाई पूर्ण रूपमा फत्ते गर्न बाध्य हुनेछौं,” राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै अगाडि लेखेका छन्, “यदि परिस्थिति त्यहाँसम्म पुग्यो र युद्ध नै भयो भने इरान अब अस्तित्वमा रहने छैन!”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *