बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

डिसी नेपाल
१५ असार २०८३ २०:४९

काठमाडौं। बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टोखाका स्थानीय कृषक केदार बिडारी जनघनत्व बढ्दै जाँदा टोखा मात्र नभई काठमाडौं उपत्यकाकै खेतीयोग्य जमिन मासिँदै गएको बताउँछन्। “काठमाडौं उपत्यका कृषिका लागि उर्भर भूमी हो, बढ्दो सहरीकरणका कारण यहाँका खेतीयोग्य जमिन मासिँदै गएका छन्”, उनी भन्छन्।

नेपालमा धान उत्पादन र किसानको श्रमको सम्मान गर्न प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ। टोखाकै अर्का किसान साम्बाल श्रेष्ठ पछिल्लो समय काठमाडौंभित्रका खेतीयोग्य जमिनमा घर बन्न थालेकाले यहाँको खेती हराउँदै गएको बताउँछन्।

पछिल्ला वर्षमा सहर विस्तार, अव्यवस्थित बस्ती विकास तथा खेतीयोग्य जमिन घडेरीमा रूपान्तरण हुने क्रम बढेसँगै धान रोप्ने खेतहरू निरन्तर घटिरहेको उनको भनाइ छ। यसले धान उत्पादनमा प्रत्यक्ष असर पार्नुका साथै खाद्य सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ।

पछिल्लो समय युवा जनशक्तिको वैदेशिक रोजगारीतर्फ आकर्षण, सिँचाइको अभाव, उन्नत बीउ तथा मलको सीमित उपलब्धता र खेतीयोग्य जमिनको खण्डीकरणले धान खेती प्रभावित भइरहेको छ। टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठक टोखाभित्र मात्र हाल ४०० हेक्टर जग्गा खेतीयोग्य रहेको बताउँछन्। टोखा क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले प्रविधियुक्त खेती प्रणालीको विकासमा जोड दिइएको उनको भनाइ छ।

टोखाले विभिन्न समयमा किसानलाई मल, बीउ, बिरुवालगायत उपलब्ध गराउँदै आएको छ। यसबाहेक टोखाले तरकारीमा आत्मनिर्भर बनाउनका लागि छतमा तरकारी खेतीलाई समेत प्रोत्साहन गरेको छ। कृषियोग्य जमिन संरक्षण, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी सिँचाइ व्यवस्था र किसानलाई प्रोत्साहन गर्ने नीति टोखाले लिएको उहाँको भनाइ छ। टोखाले प्रत्येक वर्ष असार १५ का दिनमा राष्ट्रिय धान दिवस मनाउँदै आएको छ।

उक्त धान दिवस कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष जनप्रतिनिधि, कर्मचारी, स्थानीय किसानको सहभागिता रहेको थियो। सोही अवसरमा टोखाभित्रका विभिन्न विद्यालयका विद्यार्थीलाई धान रोप्न तरिकाबारे सिकाइएको थियो। सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। टोखा नगरपालिकाको वडा नं १, २ र ३ मा हालसम्म खेतीयोग्य जमिन रहेको छ। अन्य वडा भने क्रमशः सहरीकरण हुँदै गएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *