संसदको गरिमा र प्रभावकारिता सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक: नेता आङदेम्बे
काठमाडौं। नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयतालाई थप सुदृढ बनाउन सबै राजनीतिक दल र सरोकारवाला पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
संसद दिवसका अवसरमा विशेष शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास गर्न तथा जनसरोकारका विविध विषयहरूलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा यस दिनलाई लिनुपर्ने बताए।
वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको ऐतिहासिक पहिलो बैठक बसेको दिनले नेपाली जनताको लामो लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको ऐनाका रूपमा स्मरण गराउने उनको भनाइ छ।
नेता आङदेम्बेले जननिर्वाचित संसदको पहिलो ऐतिहासिक बैठक बसेको यो विशेष दिनले नेपालमा लोकतन्त्रको जगलाई संस्थागत गर्न र जनताका आवाजलाई संसद मार्फत् घनिभूत रूपमा सम्बोधन गर्ने दायित्व बोध गराउने उल्लेख गरे।
संसदलाई लोकतन्त्रको मेरुदण्डका रूपमा अर्थ्याउँदै उनले जनताको सार्वभौम इच्छा र भावनालाई कानुन, नीति तथा राज्य सञ्चालनका प्रकृयाहरू मार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाका रूपमा यसको गरिमा अक्षुण्ण राख्नुपर्नेमा जोड दिए।
यसका लागि नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, माननीय मन्त्रीहरू तथा सबै माननीय सांसदहरूको समान जिम्मेवारी र कर्तव्य रहने धारणा उनले व्यक्त गरे।
आफ्नो शुभकामना सन्देशमा उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सदैव लोकतन्त्रको संवर्द्धन, संविधानको रक्षा, विधिको शासन, मानव अधिकारको ग्यारेन्टी तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहँदै आएको स्पष्ट पारे।
संसद दिवसले सबै राजनीतिक शक्तिहरूलाई संसदलाई स्थापित लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप अझ बढी जनमुखी, सुदृढ र उत्तरदायी बनाउन सकारात्मक प्रेरणा प्रदान गर्ने बलियो विश्वास समेत नेता आङदेम्बेले व्यक्त गरे।






डिसी नेपाल





Facebook Comment